पोल्ट्री ब्यवसायबाट मनग्ये आम्दानी गर्दै ढुङ्गाना

प्रकाशित मिति:

मिलन पंगेनी \ दिन प्रति दिन नेपाली युवाहरुको मोह बैदेशिक रोजगार बनिरहेको अबस्थामा पाल्पाका एक युवाले विदेश बाट फर्केर नमुना पोल्ट्री फार्म सञ्चालन गरि मनग्ये आम्दानी गरिरहेका छन । आफ्नो मेहनत अनी पसिना विदेशमा बगाउनु भन्दा देश भित्रै केही गर्नु पर्छ भन्ने उद्धेश्य सहित १२ बर्षे विदेश बसाई लाई त्यागेर स्वदेश फर्किएका युवा हुन पाल्पा जिल्ला बेगनासकाली १ गाप्तुङ्ग निवासी मधु सुधन ढुङ्गाना ।
नेपालमा कृषी क्षेत्रमा राम्रो अवसर रहेको र त्यसलाई हामिले राम्रो संग बुझ्न नसकेर विदेश पलायन हुनु परेको भन्दै ढुङ्गानाले आफ्नै गाउँ ठाउँमा फर्किएर पोल्ट्री ब्यवसायको सुरुवात गरे । २०७३ सालको माघदेखी केही लोकल कुखुरा र २० वटा टर्की बाट सुरु गरेको उनको ब्यवसाय हाल न्यू ढुङ्गाना पोल्ट्री फार्मको नाममा दर्ता गरी १० रोपनी जग्गामा ४०० कुखुरा र २०० वटा भन्दा बढी ठुला टर्की पाल्दै आएका छन ।
नेपालमा वर्तमान समयको परिपेक्षमा हेर्ने हो भने टर्की पालन ब्यवसाय बढ्दो क्रममा छ । बोसो रहित मासु हुने र विभिन्न खनिज पदार्थ भरपुर रुपमा पाइने भएकाले पनी बजारमा मासुको माग बढ्दै गएको देखिन्छ ।
ब्यवसायी ढुङ्गाना भन्छन बजारमा टर्की रु ८०० प्रति किलो बेच्दै आएको छु । स्थानिय रुपमा मात्र नभई स्याङ्जा, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही, लगायतका क्षेत्रबाट पनि मासुको माग निकै बढ्दो क्रममा छ । मासु मात्र नभइ उनले चल्ला हरु समेत विक्रि गर्दै आइरहेका छन । उनी भन्छन बजारमा मासुको भन्दा अझ बढि मात्रामा चल्लाको माग छ । माग अनुसार चल्लाहरु पु¥याउन धौ–धौ भइरहेको छ ।
उनले महिनामा दुई लाख बराबरको त चल्ला मात्र विक्रि गर्दै आएको बताउछन । उनि भन्छन एउटा टर्कीलाई ७–८ महिनामा १०–१२ किलो बनाउन सकिने र खुल्ला ठाउँमा चराउदा दाना समेत कम लाग्ने हुदा मुनाफा राम्रो हुन्छ ।
ढुङ्गानाले टर्की मात्र नभई लोकल, लेयर्स, कडकनाथ लगायतका ७,८ प्रजातिका कुखुरा समेत पाल्दै आएका छन । कुखुराको मासु र अण्डा स्थानिय स्तरमा नै खपत हुदै आएको छ । आम्दानी पनि निकै राम्रो गरिरहेका छन । उनले २ प्रजातिको परेवा र निकै महँगो मानिने कुकुरको प्रजाती जर्मन सेफर्ड पनि पालेका छन । भविष्यमा कुकुर समेत बेच्ने उनको लक्ष्य छ ।
उनि बताउछन सुरु सुरुमा बजारीकरणको निकै चुनौती थियो । सर्वसाधाणलाई टर्कीको त्यती धेरै ज्ञान नभएको र यसको मासुको फाइदा समेत जानाकारी नभएकाले केही समस्या भयो तर अहिले भने त्यस्तो छैन ।
विदेशको जागीर छाडेर स्वदेशमा आफ्नो ब्यवसाय सुरु गरेको निर्णय निकै फाइदाजनक र सहि रहेको उनको भनाई छ ।
स्थानिय रुपमा समेत उनलाई गाउँपालिकाले राम्रो सहयोग गरेको छ । स्थानिय सरकारले १०० वटा लेयर्स कुखुरा र केही रकम आर्थिक समेत प्रदान गरेको थियो । जसले गर्दा ब्यवसाय गर्न अझै उत्सुकता रहेको बताउँछन । यदि इच्क्षा र चाहाना भए विदेशमा गर्ने आधा मात्र श्रम नेपालमा खर्चने हो भने हामी कसैलाइ विदेशिनु नपर्ने ढुङ्गानाको तर्क छ ।