प्रदेश ५ को नाम मगरात–थारुहट राख्न माग गर्दै आज वृहत प्रदर्शन र आमसभा

प्रकाशित मिति:

बुटवल, चैत । संयुक्त मगर मञ्च नेपालले प्रदेश ५ को नाम ‘मगरात–थरुहट’ हुनुपर्ने माग गरेको छ । प्रदेश ५ मगर र थारुको ऐतिहासिक थातथलो भएको र जनसंख्या पनि करिब दुई तिहाई रहेकाले प्रदेशको नाम मगरात थरुहट राख्नुपर्ने तर्क गरेको छ । पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्ति बांडफांट समितिको प्रतिवेदनले पनि पहिचानका पांच र सामथ्र्यका चार आधार वमोजिम प्रदेशको नामाकरण गर्न निर्देशन दिएकाले पनि मगरात थरुहट हुनुपर्ने तर्क तथ्यसंगत रहेको मञ्चले दावी गरेको छ । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त मगर मञ्च नेपालका संयोजक एवं नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले सरकारले आदिवासी जनजाती महासंघ र थरुहट आन्दोलनसंग गरेका विभिन्न सम्झौताका आधारमा पनि यो प्रदेशको नामाकरण मगरात–थरुहट गरिनु पर्ने बताए । जेठसम्म आफूहरुका माग पुरा नभए चरणवद्ध सशक्त अँन्दोलनमा उत्रिन वाध्य हुने रोकाले स्पष्ट पारे । ‘सकेसम्म सरकार र प्रमुख राजनीतिक दलहरुले विगतमा गरेका सम्झौतालाई पालना गर्दै माग सम्बोधन होस् भन्ने हाम्रो माग छ, यदि सम्बोधन भएन भने सशक्त आन्दोलनमा जान्छौं’–अध्यक्ष रोकाले भने । मञ्चले नेपाली भाषा बाहेक थप एकभन्दा बढी भाषालाई संघीय, प्रदेश र स्थानीय तहका व्यवस्थापीका, कार्यपालिका,न्यायपालिका लगायत प्रदेश सरकारको सम्पुर्ण निकाय र संरचनाहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक एवं समाबेशी प्रतिनिधित्व सुनिश्चितता गर्न माग गरेको छ ।

संविधानमा व्यवस्था भएबमोजिम प्रदेश र स्थानीय तहहरुको अधिकारको प्रयोग गर्दै ऐन, कानुन नीति र कार्यक्रमहरु वनाउदा आदिवासी जनजाती अधिकार सम्वन्धि अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं १६९ र आदिवासी जनजातिको अधिकार सम्वन्धि संयुक्त राष्टसंघीय घोषणा पत्र २००७ का आधारमा आदिवासीका लागि स्वशासन,अग्राधिकार,आत्मनिर्णयको अधिकार लगायतका सवालहरुलाई ऐन, कानुन बनाएरै संम्वोधन गर्न पनि मञ्चले माग गरेको छ ।  मञ्चले अल्पसंख्यक, सिमान्तकृत र लोपउन्मुख लगायतका आदिवासी जनजातिहरुको सभ्यता, ईतिहास, भाषा, संस्कृति संरक्षण र विकासका लागि राज्यले विशेष कदम चाल्नुपर्ने माग समेत गरेको छ । मञ्चले माग सम्बोधनका लागि दवाव दिन मगरात सहितको पहिचान सम्बन्धी भित्तेलेखन, हस्ताक्षर संकलन, प्रदेश,जिल्ला–नगर÷गाउँ स्तरीय अन्तरक्रिया, मुख्यमन्त्री, राजनैतिक दलहरु लगायतसंग भेटघाट लगायतका कार्यक्रम गर्ने तयारीमा रहेको संयुक्त मगर मञ्च प्रदेश ५ अध्यक्ष विमल सारुले बताए । प्रदेशको नामाकरण मगरात थरुहट बनाउन दवाव दिने उद्देशयले नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद मगरात–थरुहट प्रदेश ५ ले शुक्रबार बुटवलमा वृहत प्रदर्शनसहित आमसभा आयोजना गरेको छ । राजमार्ग चौराहादेखि शुरु हुने प्रदर्शन मिलनचोक, हस्पिटललाइन हुंदै ट्राफिकचोकमा पुगेर आमसभामा परिणत हुने प्रदेश ५ परिषदका सचिव मनोज रानाले जानकारी दिए । सभामा आदिवासी जनजाति महासंघ संघीय परिषदका केन्द्रीय अध्यक्ष जगत बराम,नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका लगायतले सम्बोधन गर्ने सचिव रानाले बताए । आमसभामा ५ हजार बढी जनसमुदाय उतार्ने तयारी भएको परिषदका अध्यक्ष दीपक गुरुङले बताए । पत्रकार सम्मेलनको सञ्चालन धनी आलेले गरेकी थिइन्