काँग्रेसको बिरोध कार्यक्रम बिदेशमा पनि……

प्रकाशित मिति:

नयाँ पत्रिकामा रमेश सापकोटा लेख्छन् :
सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् ।
बिदेशमा बिरोधका कार्यक्रम किन त ?
‘सरकार दिनानुदिन अधिनायकवादी शैलीमा अघि बढिरहेको छ । मानिसहरू सुसूचित हुन् भनेर हामीले सरकारको विरोध गर्न लागेका हौँ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘हामीले जनसम्पर्क समितिहरूलाई आफ्नो अनुकूलको विरोधका कार्यक्रम गर्न भनेका छौँ । उहाँहरूले आफूहरू बसेको देशको कानुन, परिस्थिति र परिवेश हेरेर विरोध गर्नुहुन्छ ।’
दूतावासअगाडि प्रदर्शनदेखि ज्ञापनपत्र बुझाउनेसम्म
विरोधको कार्यक्रमअन्तर्गत जनसम्पर्क समितिहरूले सबै देशको दूतावास अगाडि प्रदर्शन गर्ने दाबी कांग्रेसको छ । ‘विदेशमा रहेका नेपालीले पनि सरकारलाई खबरदारी गरिरहेका छन् भन्दै दबाब दिने र कांग्रेसका पक्षमा जनमत बढाउन पनि विरोध प्रदर्शन गर्न लागिएको हो,’ एक नेताले भने ‘विरोधका अनेक शैलीमा हामी कार्यक्रम गर्दै छौँ ।’
कांग्रेसले गोविन्द केसीसँगका समझदारी कार्यान्वयन, महँगी नियन्त्रण, निषेधाज्ञाको विरोध, सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थाको कार्यान्वयनलगायत विषय उठाउन निर्देश गरेको छ । विरोध प्रदर्शनपछि दूतावासमा ध्यानाकर्षणपत्र बुझाउने तयारी कांग्रेसको छ ।
कुन–कुन देशमा छन् जनसम्पर्क समिति ?
अस्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानडा, साइप्रस, डेनमार्क, फिनल्यान्ड, जर्मनी, हङकङ, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाउ, मलेसिया, नेदरल्यान्ड्स, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, साउदी अरेबिया, स्विट्जरल्यान्ड, युएई, बेलायत र अमेरिकामा कांग्रेसका जनसम्पर्क समिति छन् ।