वालिङ १ मा तीन दिने उद्घोषण तथा सोरठी, घाँटु नाँच सम्बन्धी प्रशिक्षण

प्रकाशित मिति:

तोलाकान्त बगाले वालिङ चैत । वालिङ नगरपालिका १ नं वडा कार्यालयको आयोजनामा रामबाच्छामा बिहीबारबाट तीन दिने उद्घोषण तथा सोरठी, घाँटु नाँच सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएको छ । १ नं वडाले वडाभित्रका जनजातिहरुलाई लक्षित गरी वडाबासीको ब्यक्तित्व विकासमा टेवा पु¥याउने र संस्कृतिको संरक्षणका लागि सोरठी र घाँटु नाँचको प्रशिक्षणको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले मानिसहरुमा अन्तरनिहित प्रतिभा, क्षमता प्रष्फुटन गर्न यस खालका प्रशिक्षणहरु उपयोगी हुने बताउँदै सिकेको सीपलाई ब्यवहारमा उतार्न सुझाव दिनुभयो ।  जनप्रतिनिधिहरुमात्रै सचेत भएर हुँदैन सबै नगरबासी सचेत भएमात्रै स्मार्ट वालिङ घोषणाले मुर्तरुप लिन्छ  उपप्रमुख तिवारीले भन्नुभयो  जनप्रतिनिधिबाट पनि कहिलेकाँही गल्ति कमी कमजोरीहरु हुन सक्ने भएकाले नगरबासीले उचित सल्लाह सुझाव एवम् प्रतिक्रियाहरु जनाउन आग्रह पनि गर्दछु ।

१ नं वडा अध्यक्ष एवम् नगर प्रवक्ता केदार काफ्लेले कतिपय ठाउँमा महिला दिदीबहिनीहरु नाँच्न गाउन सक्ने तर अगाडि आएर बोल्न नसक्ने समस्या रहेकाले उहाँहरुको ब्यक्तित्व विकासमा सहयोग पुग्ने हेतुले वडाले प्रशिक्षणका लागि बजेट विनियोजन गरेको बताउनुभयो । निरन्तरको अभ्यासबाट मात्रै बोल्ने कलाको विकास हुने भएकाले पनि निर्भिक र निडर भएर अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्दै जान वडा अध्यक्ष काफ्लेले सुझाव दिनुभयो । उहाँले वडाले आगामी दिनमा वडाबासीका चाहना अनुसार थप प्रशिक्षणका कार्यक्रमहरु गर्दै लगिने बताउनुभयो । कार्यक्रममा रामबाच्छा बजार ब्यवस्थापन समितिका अध्यक्ष पदमराज गुरुङले गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस वडामा वडा कार्यालयले प्रशिक्षणका लागि बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गर्दै तालिममा सिकेका सीपलाई आगामी दिनमा ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । बिहीबार पहिलो दिन रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले र सामाजिक परिचालक टिकराज गुरुङले सहजीकरण गर्नुभएको थियो । वडा अध्यक्ष केदार काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव बुद्धिसागर पंगेनीले गर्नुभएको थियो ।