नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता साउनभित्र हुने

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा ढिलाइ भएका कारण एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भएको हो ।

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र को एकता भई नेकपा घोषणा हुँदा तीन महिना ९भदौ ३० भित्र आधारभूत तहसम्म एकता गरिसक्ने जनाएकामा पार्टीको विधान र नियमावली तय नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान र नियमावलीलाई सम्पादनसहित प्रकाशनको निर्णय गरेअनुसार विधान र नियमावली तल्ला कमिटीमा जान थालेका छन् ।

पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनमा यसअघिको जिम्मेवारीमा रहेका इञ्चार्ज, सहइञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्षहरु रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको थियो । विधान र नियमावालीको अभावमा ती कार्यदलले निर्णय गर्न सकेका थिएनन् ।