सहमति पछि आयोजनाका कर्मचारीहरु काममा फर्किए

प्रकाशित मिति:

सोम दियाली, सर्लाही आयोजनाको कामकाजै ठप्प पारेर धर्नामा वसेका बागमती सिंचाई आयोजनाका कर्मचारीहरु काममा फर्किएका छन् । लामो समय देखि आयोजनामा अस्थायी करारमा कार्यरत उनीहरुले माघ देखिको तलब यथाशीघ्र पाउनु पर्ने, सरकारले लागूू गरेको योगदानमा आधारीत सामाजिक सुरक्षा ऐन तत्काल लागू गर्नु पर्ने लगायतका ४ बुँदे माग राख्दै चैत्र ३ गते देखि बागमती स्थित आयोजनाको मूलगेटमा धर्ना दिएका थिए ।

श्रमिकहरुको आन्दोलनका कारण सिँचाई आयोजनाको कामकाज प्रभावित भए पछि सिँचाई विभागका उपमहानिर्देशक बासुदेव निरौलाको नेतृत्वमा आएको वार्ता टोलीले विहिवार दिनभरी श्रमिकहरुसँग वार्ता गरेको थियो । वार्ता सफल भए पछि श्रमिकहरु आन्दोलनका कार्यक्रम स्थगित गरी आयोजना संचालन गर्न र काममा फर्कन राजी भएका श्रमिकहरुका प्रतिनिधी सिँचाई विभाग अन्तर्गतको अस्थायी करार ज्यालादारी कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केशव रेग्मीले बताउनु भयो ।

रेग्मीले भन्नु भयो –‘हाम्रा माग आगामी वैशाख सम्म पूरा गर्न आयोजना तयार भएको छ, वार्तामा भएका सहमति अक्षरस कार्यान्वय गर्ने आयोजनाले भनेको छ । हाम्रा सवै माग पूरा हुन्छन् भन्नेमा हामी पनि विश्वस्त छौं । पूरा नभए हामी पुन आन्दोलन गर्छौ ।’ वार्ता समितिका संयोजक सिँचाई विभागका उपमहानिर्देशक बासुदेव निरौलाले अस्थायी ज्यालादारी मजदुरहरुको समस्यामा आफुहरु गम्भीर भएको बताउनु भयो । उहाँले बागमती सिँचाई आयोजनामा मात्रै हैन, कमला, वबई लगायतका अन्य आयोजनामा कार्यरत कर्मचारीहरु समेत मर्कामा परेकोले सवै कर्मचारीहरुका समस्या सम्बोधन हुने बताउनु भयो । बागमती सिँचाई आयोजनामा हाल २५५ जना अस्थायी कर्मचारीहरु कार्यरत छन् ।