आज साउन १५ अर्थात खीर खाने दिन

प्रकाशित मिति:

 

१५ साउन, बुटवल ।  आज साउन १५ अर्थात खीर खाने दिन । आज घरडेरामा खीर तयार पारेर भोजन गरिँदै छ । यसरी खीर तयार पार्न नभ्याउनेहरुले होटल, रेष्टुँरामा तयार भएको खीर खाने गर्दछन् ।

चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा पनि विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ ।

शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ ।

चामलमा कार्बाेहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ ।

साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ ।