शेष घले दम्पत्ति बने डलर अर्बपति !

प्रकाशित मिति:

काठमाडौं – अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली शेष घले दम्पत्ति डलर अर्बपति बनेका छन् । बीआरडब्लु रीचमा भएको लिष्टका अनुसार घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ । अष्ट्रेलियाका धनीहरुको सूचीमा शेष घले ८६औं र जमुना गुरुङ ८५ औं स्थानमा रहेका छन् । गत बर्ष उनीहरुको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थप्न सफल भएका छन् । योसँगै उनीहरुले अष्ट्रेलियाका अर्बपतिहरुको सूचीमा समेत डेब्यु गरेका छन् ।

उनीहरुको सम्पत्तिको मुख्य स्रोत मेलवर्नमा रहेको मेलवर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी हो । तर, पछिल्ला दिनमा उनीहरुको धनीको सूचीमा फड्को मार्दै जानुमा भने ब्यवसायिक रियलस्टेट कारोबारको मुख्य योगदान रहेको द अष्ट्रेलियनले जनाएको छ । नेपालमा जन्मिएर सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका घले दम्पत्तिले छोटो समयमा उदाहरणीय प्रगति गरेका छन् । उनले सन् २०१३ देखि १७ सम्म चार बर्ष गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नेतृत्व गरेका थिए । उनीहरुले नेपालमा झण्डै १२ अर्ब रुपैयााको लगानीमा शेराटन काठमाण्डु होटल निर्माण गरिरहेका छन् ।