एसईई परिक्षा स्थगित भएपछि बाराको स्थिति तनावग्रस्त

प्रकाशित मिति:

काठमाडौं  – एसईई परिक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि सरकारले एसईई परीक्षा स्थगित गर्दा आक्रोशित विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । बिहानैदेखि भइरहेको विद्यार्थीहरुको प्रदर्शनपछि प्रदेश नं. २ अन्तर्गत बाराको जितपुर तनावग्रस्त बनेको छ । प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै २ नम्बर प्रदेशमा बाँकी रहेका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको जनाएका थिए ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हालसम्म ६ राउन्ड हवाइफायर र ४ राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीआ) गणेश भट्टराईका अनुसार विद्यार्थी आन्दोलित भएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराई समेत घटनास्थलमै खटिएका छन् । परीक्षा स्थगित भएपछि २ नम्बर प्रदेशका विभिन्न ठाउँमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् ।