राष्ट्रिय पुँजीको विकास गर्छु भन्नेले उद्योगमा आगो लगाउनु हुदैन : भुसाल

प्रकाशित मिति:

भैरहवा, चैत । प्रतिनिधिसभाका सदस्य घनश्याम भुसालले राज्यमाथि आक्रमण भए राज्यले सहन नसक्ने बताएका छन् । उनले राष्ट्रिय पुँजीको विकास गर्छु भन्नेले उद्योगमा आगो लगाएर नहुने बताए । चन्दा आतंक, लुटपाट, बम विष्फोट, आगलागी जस्ता काम भए राज्य चुप लागेर नबस्ने भुसालले बताए । भैरहवामा पत्रकारहरुसंग कुराकानी गर्दै भुसालले बिखण्डनको कुरा गर्ने सिके राउत लोकतान्त्रिक गणतन्त्रको मुल प्रवाहमा आउनु सकारात्मक तथा स्वागतयोग्य रहेको बताए । सिके राउतलाई मुल प्रवाहमा ल्याउनु राम्रो हो, तर पार्टीमा पनि छलफल हुनुपथ्र्यो, उनले भने । बढीभन्दा बढी छलफल भए झन् राम्रो हुनेथियो, यस पटक सहमति हुँदा त राम्रो भयो, तर छलफल नभई हुने काम कहिलेकाहीं राम्रो नहुन सक्छ, भुसालले भने । अर्को प्रसंगमा भुसालले विप्लवले तयार पारेको दस्तावेज आफैभित्र नमिल्ने र एकीकृत क्रान्ति पनि कसैले नबुझेको टिप्पणी गरे । विप्लब समुहलाई दमन गरेर मात्र सकिन्छ भनियो भने त्यो अधिनायकवाद हुने उनको भनाइ थियो । हरेक कुराको समाधान प्रहरी र बन्दुकबाट मात्र खोजिए त्यहाँ द्वन्द्ध सिर्जना हुने उनले तर्क गरे ।

विप्लबजीहरुले बोक्नु भएको विचार सैन्द्धान्तिक रुपमा हल गर्नुपर्छ, नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका नेता भुसालले भने । पार्टी एकताको बारेमा बोल्दै उनले पार्टी एकीकरण प्रक्रिया असार सम्म टुंगिनुपर्ने भए तापनि १० महिनासम्म पनि हुन नसकेको बताए । उनले कम्युनिष्ट पार्टी अराजक समुहको झुण्ड हुन नसक्ने समेत स्पष्ट पारे । जतिसक्दो आधार तय गरेर पार्टी एकीकरण हुन्छ, उनले भने । पार्टी भित्र छलफलको छलफल हुने स्पेशको वातावरण सिर्जना हुनुपर्ने उनको भनाइ थियो । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुसालले सिद्धार्थनगरको सम्भावना भनेकै लुम्बिनी र रुपन्देहीको सम्भावना भएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले स्थानीयवासीलाई पनि समेटनुपर्ने आफुले पहिले देखि आवाज उठाउँदै आएको जानकारी दिए । ३५ अर्बको लागत रहेको एअरपोर्टबाट हवाइजहाज मात्र उडेर के हुन्छ, दोगहरीमा बस्ने नागरिकले त्यसबाट के पाउने ? भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।