नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छ

प्रकाशित मिति:

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो ।

प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो । अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ ।आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ ।

यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ ।सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् ।आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।