पत्रकार महासंघ उपाध्यक्ष पोख्रेल भन्छन – मिडिया जिम्मेवार हुनुपर्छ

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले तराईमा भएको विपत्लाई राष्ट्रिय पीडा भन्दै हावाहुरीवाट भएको मानवीय क्षतिले दुःखी तुल्याएको बताएका छन् । हावाहुरीवाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिँदै उनले थप मानवीय क्षति हुन नदिन पत्रकारिता क्षेत्रले अझै योगदान पुर्याउन सक्ने तर्फ सबै पत्रकारहरुको ध्यानाकर्षण गराएका छन् ।

‘‘बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचार प्रक्रियालाई सघाउन, आवश्यक मानवीय सहयोग जुटाउन, रगतको अभाव हुन नदिन र आवश्यक सूचना प्रवाह गर्न मिडियाले महत्वपूर्ण भूमिका खेलिरहेको छ । यो भूमिका अझै प्रभावकारी हुन्छ,’’ उनले भनेका छन् । उपाध्यक्ष पोख्रेलले बारा र पर्साका पत्रकारहरुलाई सक्रियताका लागि धन्यवाद दिँदै अझै प्रभावकारी ढंगले सहयोगमा जुट्न सबैमा आग्रह पनि गरेका छन् । ‘‘देशले भोगेको यो दुःखद् घटनासँगै फेरि पनि मौसम प्रतिकूल बन्ने सम्भावनालाई मध्यनजर गरी पूर्वतयारीमा जुट्न पनि आवश्यक छ,’’ उनले भनेका छन् ।

विपद् व्यवस्थापनका सन्दर्भमा र पूर्वसतर्कताका सन्दर्भमा पनि पत्रकारहरुको सचेततापूर्वक भूमिका निर्वाह हुने उनको विश्वास छ । उनले यो प्रक्रियामा सामूहिक प्रयत्न गर्न पनि सबैमा आग्रह गरेका छन् । उपाध्यक्ष पोख्रेलले भनेका छन्, ‘‘राज्यका निकायहरुले पनि उपचार, अवस्था र संख्याको यकिन गर्न र थप क्षति हुन नदिन अझै प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने देखिएको छ ।’’