मन्त्रीले गरे ट्रायल सेन्टरको शिलान्यास

प्रकाशित मिति:

डोटी –  पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा गाडी तथा बाइक चलाउनका लागि लिइने अनुमतिपत्रका लागि ट्रायल सेन्टर स्थापना गरिएको छ। राजपुरमा निर्माण गरिने उक्त सेन्टरको सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री पठानसिंह बोहराले आइतबार शिलान्यास गर्दै सामान्यतया लाइसेन्स रिन्यु तथा नयाँ लाइसेन्स लिन कैलाली–कञ्चारपुर धाउनुपर्ने झन्झटबाट नागरिकले मुक्ति पाउने बताए।

उनले भने, ‘यो ट्रायल सेन्टरले नागरिकलाई राहत मिल्नेछ, सामान्य कामका लागि जिल्ला बाहिर गएर दुःख गर्नुपर्ने अवस्था हट्नेछ।‘ सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा र डोटी जिल्लालाई लक्ष्य गरी दिपायलस्थित राजपुरमा यातायात व्यवस्था सेवा कार्यालय स्थापन गरिएसँगै अहिले सेन्टर पनि शिलान्यास गरिएको हो। आगामी असार महीनासम्म सेन्टर निर्माण सम्पन्न गरिसकिने लक्ष्य लिइएको छ। जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले सेन्टरले सुदूर पहाडका तीन जिल्लाका नागरिकलाई निकै राहत पुग्ने बताए। उनले भने, ‘लाइसेन्स लिन र रिन्यु गर्न यहाँका जनताले निकै दुःख गर्नुपर्ने र खर्च बढी हुने गरेको थियो। अब घरमै ट्रायल सेन्टर स्थापना भएकाले सबैलाई सहुलियत मिल्नेछ – रासस