दुई महिना सुतेरै काम गर्न सके १६ हजार युरो पाइने !

प्रकाशित मिति:

एजेन्सी – अन्तरिक्ष वैज्ञानिकहरुले एक अध्ययनका लागि २४–५५ वर्षीया स्वस्थ महिलाहरुको खोजी गरिरहेका छन् जसले ६० दिनसम्म सबैकाम खाटमा सुतेरै गर्नुपर्ने हुन्छ । यसरी अध्ययनमा मद्दत गरेवापत उनीहरुलाई १६ हजार ५०० युरो अर्थात करिब १९ हजार डलर प्रदान गरिने बताइएको छ । ‘वेटलेसनेस’ अर्थात गुरुत्वहीनताले मानिसको शरीरमा कस्तो असर पार्दछ भन्ने खोजी गर्न यो अनुसन्धान गर्न लागिएको हो ।

अन्तरिक्षयात्रीहरु स्पेसमा बस्दा कम गुरुत्वाकर्षणका कारण शारीरिक चाप कम हुन पुग्दा उनीहरुको शरीरमा विभिन्न परिवर्तन देखा पर्ने गर्दछ । नासाका अनुसार यसक्रममा मानव शरीरभित्रका मांसपेसी र हड्डीहरू टुक्रिँदै जान सक्ने डर हुन्छ भने शरीर भित्रका सबै तरल पदार्थ व्यक्तिको टाउकोतर्फ बहन सक्छन् । त्यसैले जर्मन एरोस्पेस सेन्टरका वैज्ञानिकहरुले नासा र युरोपियन स्पेस एजेन्सीको निर्देशनमा यस सम्बन्धि अध्ययन सुरु गर्ने भएको छ ।

तर माइक्रोग्राभिटी अर्थात सुक्ष्म गुरुत्वाकर्षणबाट उत्पन्न असरबारे पत्ता लगाउत र यसको कसरी सामना गर्ने भन्ने तरिकाको खोजी गर्न सहभागीहरुले वेटलेस वातावरणमा उडिरहनु नपर्ने बताइएको छ । यसको सट्टा उनीहरुले ६० दिनसम्म सुतेर बिताउनु पर्ने हुन्छ । जसका लागि प्रत्येक सहभागीलाई छुट्टा छुट्टै कोठा दिइएको हुन्छ जहाँ उनीहरुले खाने, नुहाउने, शौचालय जाने लगायतका सबै दैनिक क्रियाकलाप सुतेरै गर्नुपर्ने हुन्छ । त्यस्तै अनुसन्धानका क्रममा तौल घटबढ नहोस् भनेर सबै खानेकुराहरु पनि पोषण सम्बन्धी विशेषज्ञको टोलीले निर्धारण गर्नेछ । सबै सहभागीलाई टाउको तल राखि ६ डिग्री एङ्गलमा सुत्न लगाइनेछ ।

२०१७ मा नासाले पनि यस्तै प्रकारको अनुसन्धान गरेको थियो जसमा ११ जनाले तीस दिन खाटमा सुतेर बिताएका थिए । वास्तवमा अन्तरिक्षयात्रीहरुले स्पेस स्टेसनमा आफ्नो अधिकतम दिन व्यायाम गरेर बिताउनु नपरोस् भनेर नै यो अनुसन्धान सञ्चालन गर्न लागिएको हो ।  किनकि अन्तरिक्ष भ्रमण गर्ने सबै यात्रीहरुले शरीरिक नोक्सानीबाट बच्न अन्तरिक्षमा रहुन्जेल औसतमा दैनिक दुई घण्टा एक्सरसाइज गर्ने गर्छन् ।

तर यसका लागि उनीहरुले प्रयोग गर्ने उपकरणहरु भने पृथ्वीको भन्दा धेरै फरक हुन्छ । जस्तै पृथ्वीमा ९० किलो उचाल्नु धेरै गाह्रो काम हो तर अन्तरिक्षमा कम माइक्रोग्राभिटीका कारण त्यति नै तौल बोक्न सहज हुन्छ । त्यसैले अन्तरिक्षमा प्रयोग गरिने एक्सरसाइजका उपकरण विशेष रुपले डिजाइन गरिएको हुन्छ । अनुसन्धानलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा मंगलबारबाट सुरु पहिलो चरणमा १२ महिला र १२ पुरुष गरी २४ सहभागी रहेका छन् । दोस्रो चरणका लागि कति सहभागी आवश्यक पर्नेछ भन्ने स्पष्ट भइसकेको छैन जुन जर्मन एरोस्पेस सेन्टरको ‘इन्सिटिटिउट अफ एरोस्पेस मेडिसिन कलोग्न’ मा आगामी सेप्टेम्बरदेखि डिसेम्बर सम्म हुने बताइएको छ । आधिकारिक वेबसाइटमा बताइए अनुसार यसमा सहभागी महिलाहरुले धुम्रपान गरेको हुनुहुँदैन र स्पष्ट जर्मन बोल्न आउनैपर्ने सीएनएनले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।