वसन्तपुर-स्वयम्भूसम्म ‘सम्पदा मार्ग’

प्रकाशित मिति:

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायरदेखि स्वयम्भूसम्म ‘सम्पदा पदमार्ग’ निर्माण हुने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दुई सम्पदाबीचको करिब २.८ किलोमिटर दूरीमा काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग बनाउने भएको हो । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले सम्पदा पदमार्गको प्रोपोज डिजाइनसमेत तयार गरिसकेको छ । ‘विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये वसन्तपुर र स्वयम्भू कम दूरीमा छन् । त्यसैले हामीले सम्पदा मार्ग बनाउन नक्सांकन तयार गरेका छौँ,’ योजना आयोगका अधिकृत सुशील सुवेदीले भने, ‘अहिले रहेको मार्गलाई थप विकास गरी कला–संस्कृति झल्कने गरी डिजाइन तयार भएको छ ।’ सम्पदा पदमार्ग निर्माणका लागि काठमाडौं–८ का सांसद जीवनराम श्रेष्ठ र प्रमुख विद्यासुन्दर शाक्यले यसअघि नै चासो देखाएका थिए । ‘वल्र्ड हेरिटेज डे’ का अवसरमा गत वर्ष यो मार्गमा पदयात्रासमेत गरिएको थियो ।
यस्तो हुनेछ पदमार्ग
पदमार्ग निर्माणका लागि विभिन्न ‘कम्पोनेन्ट’ को अध्ययन गरेर गुरुयोजना बनाइने महानगरले जनाएको छ । जसअनुसार मार्गमा परम्परागत इँटा बिछ्याइनेछ । मार्गआसपासका बस्तीलाई व्यवस्थित गरिनेछ । यसका लागि स्थानीयलाई प्रोत्साहित गर्ने महानगरको योजना छ ।  परम्परागत शैलीको बस्ती विकास गरिने र त्यसमा कलात्मक रङरोगन गर्ने र नेवारी कला संस्कृति झल्काउने गरी योजना बनाइएको सुवेदीको भनाइ छ । पदमार्गमा एटिएम, चार्जिङ स्टेसन, पानी पिउने स्थान, कफी सप, गिफ्ट सपका साथै नेवारी परिकार पाइने रेस्टुरेन्ट सञ्चालन हुने उनले बताए । पदमार्गमा सडकसमेत पर्ने भएकाले आकासेपुल निर्माण गर्ने योजना महानगरको छ । पदमार्गमा काष्ठमण्डप, कुमारीघर, भेलु महादेवलगायतका सम्पदासमेत पर्छन् । सम्पदा मार्ग निर्माणका लागि एकैपटक तीन–चारवटा टेन्डर आह्वान गर्ने महानगरको तयारी छ ।

‘सांस्कृतिक सहरलाई जीवन्त राख्छौँ’
सम्पदा पदमार्ग निर्माणको डिजाइन तयार भइसकेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिने महानगरले जनाएको छ । सांस्कृतिक सहर काठमाडौंलाई जीवन्त राख्न सम्पदा पदमार्ग निर्माण गर्न लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘कला, संस्कृति, परम्परा र इतिहासलाई जीवन्त राख्ने दायित्व हाम्रो हो । त्यसैले पदमार्गमार्फत हाम्रो कला संस्कृति चिनाउँछौँ,’ उनले भने । यस्तै, पर्यटन प्रवद्र्धन, नेवारी संस्कृतिको प्रवद्र्धनका लागि समेत पदमार्गले भूमिका खेल्ने अधिकृत सुवेदीले बताए । ‘कला, संस्कृतिको प्रवद्र्धनसँगै तीन किलोमिटर हिँड्दा काठमाडौंको संस्कृति बुझ्न सकिने गरी योजना बनाएका छौँ,’ उनले भने  -नयापत्रीका