जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण

प्रकाशित मिति:

काठमाडौँ – राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच मंगलबार एकता भएको छ ।
रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको औपचारिक घोषणा गरिएको हो । राष्ट्रिय जनमुक्ति पार्टी २०४७ सालमा स्थापना भएको हो भने लोक जनशक्ति पार्टी यसैसाल मात्र स्थापना भएको हो । जनशक्ति पार्टीका अध्यक्ष मेखराज परियारले जनताको पक्षमा काम गर्ने पार्टीका रुपमा नयाँ पार्टी स्थापित हुने बताउनुभयो ।

‘जनताले चाहेअनुसार कुनै पनि पार्टीले काम गर्न सकेनन्, हामीले बैकल्पिक पार्टीको रुपमा यसलाई अघि बढाएर आगामी दिनमा मुख्य र निर्णायक पार्टीको रुपमा चिनाउने छौं’ परियारले भन्नुभयो ‘ हामीले बहुजातीय लोकतान्त्रिक समाजवाद र पूर्ण समानुपातिक प्रतिनिधित्वलाई मुख्य एजेण्डा बनाएका छौं ।’

एकीकृत पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी र अध्यक्ष पनि जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा नै अध्यक्ष रहनुहुने छ । जनमुक्ति पार्टीले पटकपटक सरकारमा सहभागिता जनाइसकेको छ । यो पार्टीबाट गोरेबहादुर खपाङ्गी, एम्एस् थापा र शिवलाल थापा मन्त्री भइसकेका छन् । एकीकृत राष्ट्रिय जनमुक्ति पार्टीले देश अहिले संकटको भूमरीमा फसेको र वैकल्पिक शक्तिको माध्यमबाट जनता देशको उन्नति र प्रगति भएको हेर्न चाहेकाले पनि यो नयाँ पार्टी स्थापना गर्नुपरेको जनाएको छ ।