यसरी चिनौँ जन्डिस

प्रकाशित मिति:

डा. जीवनेश्वरलाल झा
जनरल सर्जन, मनमोहन मेमोरियल अस्पताल

जन्डिस (कमलपित्त) आफैँमा रोग होइन । तर, यो कुनै रोगको लक्षण हो । जो मानव शरीरका विभिन्न भागमा पहेँलोपनाको रूपमा देखा पर्छ ।  समाजमा जन्डिसबारे आ–आफ्नै धारणा पाइन्छ । जन्डिसले शरीरमा असामान्य तरिकाले पहेँलोपन ल्याउने भएकाले यसलाई रोगको संज्ञा दिने गरेको पाइन्छ । विशेषगरी, रगतमा विलिरुबिनको मात्रा बढी भएमा आँखा, छाला र मुख पहेँलो हुन्छ त्यसैलाई जन्डिस भएको मानिन्छ ।

लक्षण

-जन्डिस हुँदा  खान मन नलाग्ने, ज्वरो आउने, आँखा र छालामा पहेँलोपना देखापर्ने हुन्छ ।

-साथै, कमजोर महसुस हुने, थकाइ लाग्ने, पिसाब पहेंलो र बाक्लो हुँदै जानेजस्ता लक्षण देखिन्छन् ।

बच्ने उपाय

-दैनिक खानपानले जन्डिसमा धेरै प्रभाव पारिरहेको हुन्छ । त्यसैले, उसिनेको खानेकुरा, रातो मासु, अन्डाको पहेँलो भाग, गाई –भैंसीको घिउ, गुलियो स्वाद नभएका फलफूल, उखु, ग्लुकोज, मेवा, जडीबुटी तथा हर्बल औषधिको सेवन कम गर्नुपर्छ वा गर्नुहुँदैन ।

-सादा खाना, कम चिल्लो–पिरो खानेकुरा, वनस्पतिजन्य घिउ, सेतो मासु र दुधजन्य खानेकुरा आदि खान सकिन्छ ।

उपचार

जन्डिसको खास कुनै उपचार हुँदैन । प्रायः हाम्रा गाँउघरमा जडीबुटीजन्य हर्बल औषधिको माध्यमले उपचार गरिन्छ, यो गलत हो । जन्डिस के कारणले भएको हो भन्ने पत्ता लगाउन जरुरी छ । जन्डिस लक्षण मात्र भएकाले सम्बन्धित रोगको उपचार गर्दा यो आफैँ निको हुन्छ ।

-जन्डिस भएकाले आराम गर्नुपर्छ । यस्तो वेला छिट्टै थकान लाग्ने र कमजोर महसुस हुने हुँदा शारीरिक परिश्रम गर्नुहुँदैन ।

जन्डिस हुने कारण 

-रगतमा विलिरुबिनको मात्रा बढ्नु

-जन्डिस विभिन्न कारणले हुने गर्छ । जसमध्ये रगतमा विलिरुबिनको मात्रा बढी हुुनु मुख्य कारण हो । जन्डिसले बच्चाबाहेक अन्य उमेरका मानिसमा खासै असर गर्दैन ।  सामान्यतया बच्चाको रगतमा विलिरुबिनको मात्रा बढी भएमा नसासम्बन्धी समस्या देखिन्छ । रगतमा भइरहने प्रतिक्रियाका कारण रगतमा विलिरुबिनको मात्रामा घटबढ भइरहन्छ ।

 कलेजोसम्बन्धी रोग
-एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस, कलेजोको क्यान्सर, पित्तथैली बन्द हुनुजस्ता कलेजोसम्बन्धी विभिन्न रोगका कारणले जन्डिस देखा पर्छ । रगतमा भएको विलिरुबिनको मात्रालाई कलेजोमार्फत पित्तमा फाल्ने इन्जाइमको कमी हुँदा विलिरुबिनको मात्रा झन् बढेर जन्डिस हुन्छ । साथै, विविध कारणले पित्ताथैली बन्द हुँदासमेत जन्डिस हुने गर्छ ।

 अन्य
-लामो समयसम्म क्षयरोगको औषधि सेवन गर्दा, अत्यधिक मदिराजन्य पदार्थ सेवन गर्दा समेत जन्डिस हुन्छ ।