कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा

प्रकाशित मिति:

काठमाडौं – नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकको स्थान भने बुधबार बिहानसम्म पनि गोप्य राखिएको छ । आयोजक काठमाडौं जिल्ला हो । एक जिल्ला सभापतिले हाम्राकुरालाई दिएको जानकारी अनुसार जिल्ला सभापतिबीच मात्र छलफल गर्ने भनेर स्थान गोप्य राखिएको हो । उनले भने, ‘काठमाडौं जिल्लाका अध्यक्षले गोप्य राखेर हामीमात्र बसौं र घनिभूत छलफल गरौं भन्नुभएको छ । साढे १० बजेतिर मोबाइलमा म्यासेज आउला ।’

दुई वटा एजेन्डा  नेतृत्वप्रति असन्तुष्ट जिल्ला सभापतिहरुबीच यो भेला चल्न लागेको बुझिएको छ । विशेषगरी महासमिति बैठकले पारित गरेका विषयलाई केन्द्रीय कार्यसमितिले लत्याएपछि त्यसमै जिल्ला सभापतिहरु अडिक रहँदै तात्तिएका हुन् । जिल्ला सभापतिहरुले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गर्न लागेका हुन् । भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ ।

नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएका छन् । उनले भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विषयमात्र नभई समसामयिक विषयमा पनि छलफल गरी निचोडमा पुग्न सकिने बताएका छन् । पछिल्लो समय सरकारले देखाएको रवैया, काँग्रेसले खेल्नुपर्ने भूमिकादेखि सरकारले सीके राउतलाई हिरो बनाउनु र विप्लवको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएकोबारेमा समेत पनि छलफल हुने केसीले बताए । उनले प्राकृतिक विपत्ति हुँदा कसरी सघाउन सकिन्छ भनी छलफल हुनेसमेत बताएका छन् । मधेशको दैवी प्रकोपबारे कुनै निचोडमा पुग्न सकिने पनि सभापति केसीको भनाई छ ।

काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने जानकारी दिँदै औपचारिक उद्घाटन भने नहुने बताए । साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे छलफल हुने उनले बताए । काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।

आरोप प्रत्यारोप चल्न थाल्यो  जिल्ला सभापतिहरुको भेलालाई लिएर संस्थापन र इतर पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ । उक्त दुई मागका सम्बन्धमा सबै जिल्ला सभापतिका सहमति भए पनि संस्थापन इतर पक्षले आफ्नो मात्र माग हो भन्ने जसरी अतिरञ्जित गरेको भन्दै आपत्ति समेत जनाउन थालिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष निकट मानिने भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले यसबारे आपत्ति प्रकट गरेका छन् । उनले आफूहरुले जश लिने प्रयास गर्नु दुर्भाग्य हो पनि भनेका छन् । काठमाडौंमो यो भेलालाई संस्थापन पक्षले केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको थापाले बताए । नुवाकोट जिल्ला सभापति केसीले भने ४५ जिल्ला सभापतिहरुबीच छलफल हुने बताएका छन् । यो भेलामा देउवा निकट सभापतिहरु सहभागी नहुने भएकाले उनीहरु भने आपत्ति जनाइरहेका छन् ।

समानुपातिक समावेशी कोटामा एक पटकभन्दा बढी पटक अवसर पाउन नहुने भन्ने महासमितिको निर्णय पनि विधान कार्यान्वयन नभएको भन्दै जिल्ला सभापति केसीले महासमितिको निर्णयको सम्मान गर्न माग गरेका छन् । केसीले कसले के भन्छ भनेर पछि नलाग्ने तर आफूहरुले गर्ने समीक्षा पार्टी हितका लागि भएको बताएका छन् । आफूहरु कुनै गुट चलाउनका लागि नलागेको दावी गर्दै केसीले ४५ जिल्ला भन्दा बढीका सभापतिहरुको काठमाडौं भेला अर्थपूर्ण हुने दावी गरेका छन् । उनले अन्य जिल्ला सभापतिहरु विविध कारणले उपस्थित हुन नसकेको पनि बताएका छन् । आफूहरुको भेलालाई नजर अन्दाज नगर्न उनले चेतावनी दिएका छन् ।‘जसरी हेटौंडा भेलाले चुनौती दिएको थियो त्यसरी नै ककनी भेला पनि सफल भएको थियो हामीलाई चुनौती नदिइयोस्’ भनले भने – हाम्राकुरा