जनउत्थानको सेवा केन्द्र मंगलापुरमा

प्रकाशित मिति:

तिलोत्तमा -जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड –१५ ले रुपन्देहीको मंगलापुरमा बुधबारदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।यसअघि रुपन्देहीकै भैरहवा र पश्चिम अमुवामा सेवा केन्द्र सञ्चालनमा ल्याएको जनउत्थानले मंगलापुरमा तेस्रो सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जनउत्थान सहकारीले स्वरोजगार सिर्जना र उत्पादनमूलक क्षेत्रमा गरेको लगानी उदाहरणीय रहेको भन्दै यसलाई निरन्तर कायम राख्न आग्रह गरे ।

सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत सहकारीले राम्रो काम गरेको भन्दै उनले एक अर्बको हाराहारीमा बचत परिचलन गर्नुले सहकारीप्रति सर्वसाधारणको आकर्षण बढेको बताए । कतिपय सहकारीका सदस्य ऋण लिने र नियमित किस्ता तिर्न नसकेर सदस्यको आर्थिक स्तर झन खस्किंदो अवस्थामा रहेको भन्दै उनले जनउत्थानले यसलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको “ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” अभियानलाई साकार पार्न आफ्नो क्षेत्रमा सौन्दर्यीकरण गरी हरियाली प्रवद्र्धन गर्न पनि सहकारीलाई सुझाव दिए । सहकारीकी अध्यक्ष ज्ञानु पौडेलले सहकारीले कृषि, उद्यम, शिक्षा, सामाजिक क्षेत्र लगायत हरेक क्षेत्रमा उल्लेख्य गरेको र सामाजिक क्रियाकलापलाई समेत अगाडि बढाएको भन्दै सहकारीप्रतिको आकर्षण बढ्दै गएको बताइन् ।

उनले जनउत्थानले प्रदेश सरकार र स्थानीय सरकारहरुसंग सहकार्य गरेर अघि बढ्ने बताइन् । कार्यक्रममा तिलोत्तमा नगर कार्यपालिकाका सदस्य एचवी रम्तेल, संस्थाका उपाध्यक्ष गिरी पुनलगायतले पनि बोलेका थिए । जनउत्थानले गएको पुस मसान्तसम्म करिव दुई करोड ८५ लाख मुनाफा गर्न सफल भएको छ । संस्थामा हाल करिव १४ हजार शेयर सदस्यहरु आवद्ध छन् । संस्थाको कुल पुँजी करिव एक अर्व १५ करोड पुगेको छ भने ९० करोड ऋण लगानी रहेको छ ।