नवलपरासीको सुनवलमा पुरानो घरको भित्तो भत्केर दुई बालिकाको मृत्यु

प्रकाशित मिति:

रामु भुसाल ,नवलपरासी-पश्चिम नवलपरासीको सुनवलमा पुरानो घरको भित्तो भत्केर दुई बालिकाको बिहीबार मृत्यु भएको छ भने दुईजना बालिका घाइते छन । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर १० गैंडाखाल स्थित कर्णबहादुर थापाको पुरानो घर भत्काउने क्रममा अकस्मात भत्किएको भित्तोले सो ठाउ नजिकै खेलिरहेको ४ जना बालिकालाई भत्केको भित्तो थिच्दा घाइते भएका बालिका मध्य दुइजना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक विरेन्द्र थापाले बताउनुभएको छ ।

सोही ठाउ बस्ने रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना अधिकारीको देवदह मेडिकल कलेज भलुहीमा र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा बस्नेतको आम्दा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते बालिकामध्ये सोहीस्थान बस्ने रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षा खत्री र अर्की सात वर्षीया समीक्षा भुषाल घाइते भएकी छिन । घाइते मध्य एक बालिकाको अवस्था गम्भिर रहेको र अर्की कालिकाको अवस्था मध्यम रहेकोमा समिक्षाको प्रादेशिक अस्पतालमा बुटवल र अर्की घाइते दिक्षा खत्रीको आम्दा अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ । ईलाका प्रहरी काार्यलय सुनवलका अनुसार इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउने क्रममा घरको अर्को भागको भित्तो अकस्मात भत्किदा नजिकै खेलिरहेका बालबालिका पुरिएका थिए ।