विकासका आयोजना प्रभावकारी ढंगले अघि बढ्छन्ः मन्त्री गिरी

प्रकाशित मिति:

रुपन्देही प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातथावरणमन्त्री लिला गिरीले विकासका आयोजनाहरुलाई प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार शंकरनगरमा आयोजना गरेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा १ का अगुवा कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिको भेलालाई संबोधन गर्दै उनले विकासका आयोजनालाई अघि बढाउन पार्टी कमिटीको पनि महत्वपूर्ण भूमिका हुने बताए ।पुर्व अर्थमन्त्री विष्णु पौडेलको पहलमा थुप्रै राष्ट्रिय विकासका आयोजना र प्रदेश सरकारको पहलमा पनि मध्यमखालका आयोजनाहरु अघि बढेको जानकारी दिंदै मन्त्री गिरीले यसका लागि सहयोगी भूमिका खेल्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टीले गाउँगाउँबाट समृद्धिको खाका सुरु गरेकाले अव यसलाई स्थानीय कमिटीबाटै कार्यान्वयनमा ल्याउनुपर्ने बताए । नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, नारायण बेलबासेलगायतले विकास र समृद्धिको यात्रामा पार्टी कमिटी सक्रिय रुपले परिचालित हुनुपर्ने बताएका थिए । कार्यक्रममा सहभागी शाखा कमिटीका अध्यक्ष र सचिव तथा वडाअध्यक्षहरुले आ–आफ्नो क्षेत्रको कार्ययोजना प्रस्तुत गरेका थिए । भेलामा शाखा कमिटीका अध्यक्ष र सचिव तथा १० वटा वडाबाट निर्वाचित वडाअध्यक्षहरुको सहभागिता थियो ।