स्वास्थ्य संस्थामा पानिको समस्याः १३ प्रतिशत महिला घरमै हुन्छन् सुत्केरी

प्रकाशित मिति:

सरिता चलाउने/सल्यान –  स्वास्थ्य संस्थामा पानिको प्रवन्ध नहुँदा विभिन्न समस्या ब्यहोर्नुपरेको सल्यान गर्पाका सेवाग्राहिले गुनासो गरेका छन् । पिउने पानीको समेत समस्या रहेको गर्पा स्वास्थ्य चौकीमा सौचालय तथा सरसफाइको लागी झन पानीको ब्यवस्था नै नभएको गुनासो गरेका हुन् । स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत विहिबार कपुरकोट गाउँपालिका १ र २ को गर्पा स्वास्थ्य चौकीमा भएको सार्वजनीक सुनुवाई कार्यक्रममा गैरिवाङ निवासि दिलमाया घर्तीले स्वास्थ्य संस्थामा सुत्केरि हुन आउदा कपडा धुने पानी नभएकाले समस्या ब्यहोर्नुपरेको बताइन् ।

स्वास्थ्य संस्थासम्म पुग्न यातायातको समस्या रहेको, वडा नम्बर २ को सिमलकुनाबाट स्वास्थ्य संस्था सम्म पुग्न ३ घण्टा सम्म लाग्ने गरेको बताउँदै मञ्जु पुनले गाउँमै गाउँघर क्लिनिक स्थापना गरिदिन माग गरिन् । सहभागीहरुले महिलाको स्वास्थ्यलाइ जोखिममा पार्ने बाल विवाह न्युनिकरण तथा गाउँघर क्लिनिकमा विभिन्न सामग्रीको ब्यवस्थापनमा ध्यान दिन गाउँपालिका, स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थालाइ आग्रह गरेका थिए । सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनप्रतिनिधीले बाल विवाह वहिस्कार गर्ने निर्णय गरेको बताए । उनले गाउँपालिकाबाट एम्बुलेन्स खरिद भइसकेको जनाउँदै दुई हप्ता पश्चात एम्बुलेन्स सेवा संचालन हुने बताए । यस्तै आधारभुत तहका विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षण र परामर्शका कार्यक्रम लागू गरिने प्रतिवद्धता जनाए ।

उनले गर्पा स्वास्थ्य चौकी लगाएत विद्यालय र वस्तीको खानेपानीे समस्या समाधान गर्न एक ठाउँको पानीको मुहानमा सर्वे गरिएको भएपछि मुल सानो भएको कारण योजना सञ्चालन गर्न नसकिएको जनाए । यद्यपि अर्काे मुहानको खोजिमा रहेको जनाउँदै अध्यक्ष सेनले वस्ती तल मुहान भएपनि लिफ्ट सिस्टमबाट पानीको ब्यवस्था गरिने र यस योजनालाइ प्राथमिकतामा राखिएको बताए । सामाजिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, २ का वडा अध्यक्ष मान बहादुर रानाले स्वास्थ्य संग जोडिएको पूर्ण सरसफाइका कार्यक्रम अगाडि बढाइएको बताएका थिए ।

यस्तै स्वास्थ्य शाखा कपुरकोटका संयोजक अरुण दाहालले गाउँपालिकाका सबै स्वास्थ्य संस्था र सामुदायीक स्वास्थ्य ईकाइमा औषधि लगाएतका सामग्री अभाव हुन नदिएको बताए । गर्पा स्वास्थय चौकीका इन्चार्ज हुमराज योगिले अझै पनि १३ प्रतिशत महिला घरमै सुत्केरि हुने गरेको तथ्यांक प्रस्तुत गरे । यो स्थीती भयावह भएको जनाउदै उनले यसलाइ शुन्यमा झार्ने प्रयासमा आफुहरु लागेको बताए । सुत्केरि जाँच गर्ने महिलाहरु एकदमै कम रहेको योगिले जनाए । सार्वजनीक सुनुवाइ कार्यक्रममा शिक्षक, आमा समूह, स्वास्थ्य स्वायमेसिका लगायत १ सय २५ भन्दा बढिको सहभागिता थियो ।