भन्सारमा प्रभू बैंकको काउन्टर सञ्चालन सम्बन्धी सम्झौता

प्रकाशित मिति:

काठमाडौं – नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका भन्सार कार्यालयमा प्रभू बैंकले काउन्टर खोली बैंकिङ कारोबार शुरू गरिरहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयमा बैंकले काउन्टर खोलेर बैंकिङ सेवा गर्ने सम्बन्धी सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएको छ ।

रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर जटही भन्सार कार्यालयमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउन्टर सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका भन्सार कार्यालयको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा बृद्धि हुन जाने विश्वास लिइएको छ । बैंकको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताले सरलरुपमा बैंकिङ सेवा प्राप्त गर्नेछन् । नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।