रुपन्देहीको बेलहियाबाट आर्थिक वर्ष २०७४ र ७५ मा मात्रै २ खर्ब २० अर्ब ५३ करोड व्यापार घाटा

प्रकाशित मिति:

भैरहवा \मुलुककै दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहियाबाट आर्थिक वर्ष २०७४र७५ मा मात्रै २ खर्ब २० अर्ब ५३ करोड व्यापार घाटा भएको छ । यो घाटा निर्यातको तुलनामा ९८.४३ प्रतिशतले बढी हो । निर्यातको तुलनामा आयात अत्यधिक हुँदा भारत तथा तेस्रो मुलुकसँग हुने आयात–निर्यातको खाडल आकाशिँदै गएको छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार गत आर्थिक वर्षमा २ खर्ब २४ अर्ब ३ करोडको सामान आयात हुँदा निर्यात भने ३ अर्ब ५० करोडको मात्रै भएको छ । तथ्यांकअनुसार आयातबाट भन्सारले ७० अर्ब ८ करोड २४ लाख राजश्व संकलन गर्दा निर्यातबाट भने जम्मा ४६ लाख ९५ हजार मात्रै राजश्व संकलन गरेको छ । आयात गर्दा राज्यकोषमा राजश्व वृद्धि भए पनि व्यापार घाटा भने असन्तुलित बन्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७३र७४ मा पनि एक खर्ब ९८ अर्ब ८० करोड रूपैयाँ बराबरको ब्यापार घाटा भएको थियो । भैरहवा भन्सार नाका हुँदै २ खर्ब ३ अर्ब ४० करोड रूपैयाँको सामान आयात हुँदा जम्मा ४ अर्ब ६० करोड रूपैयाँ बराबरको मात्र सामान निर्यात भएको थियो । भन्सारको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा निर्यातको क्रम घट्दै गएको छ भने आयात ह्वात्तै बढेको छ । खासगरी बिलासिताका सामानहरू, मोटरसाइकल, कार, जीप भ्यान लगायतका सामानहरुको आयात बढ्दो छ । यस्तै औद्योगिक कच्चा पदार्थ, सिमेन्ट क्लिङ्कर, एमएस ब्लेड, खाद्यान्न, फलफूल, तरकारीलगायतका सामग्रीको आयात पनि बढ्दै गएको छ ।