देव विकास बैंकद्वारा मानव सेवा आश्रमलाई पांचलाख सहयोग

प्रकाशित मिति:

बुटवल-मानव सेवा आश्रमको बुटवल शाखालाई देव विकास बैंक लि.ले पांच लाख रुपैयां सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार तीन लाख रुपैयांको चेक आश्रमका अध्यक्ष रामजी अधिकारीलाई दिएको छ भने थप २ लाख बैसाखमा दिने घोषणा गरेको छ ।

आश्रमको बुटवल सुख्खानगरस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठ,एजीएम विष्णु रेग्मीले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई तीन लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणपछि बोल्दै श्रेष्ठले धमकर्म भन्दै मन्दिर धाएर ढुंगाको मुर्तिलाई देवता मानेर पुज्नु भन्दा दुखी–गरीबको सेवामा लाग्न सबैसंग अपील गरे ।

२०६९ सालमा हेटौंडाबाट शुरु भएको संस्थाका हालसम्म ६ वटा प्रदेशका ११ वटा जिल्लामा १४ शाखा छन् । ती सबै ठाउंमा गरी सडक, अस्पताल,पाटीपौवाहरुमा बेवारिसे अवस्थामा छाडिएका,मानसिक सन्तुलन गुमाएका, घाउचोटले शरीरका अंगहरु कुहिएका,फोहरले दुर्गन्धित व्यक्तिहरु करिब ८ सय जनालाई उपचार र पालनपोषणको काम आश्रमले गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सुस्त मनस्थिति बाल विद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसाल,ओम डेभलपमेन्ट बैंकका अर्जुन ज्ञवाली,देव विकास बैंकका एजीएम विष्णु रेग्मी,राजन सापकोटा लगायतले बोल्दै असक्त, असहाय व्यक्तिको सेवा नै सबैभन्दा ठूलो मानव धर्म भएको बताए । पुसदेखि सञ्चालनमा आएको बुटवलको मानव सेवा आश्रममा ४० जनाले आश्रय लिएका शाखा प्रमुख सरु अधिकारीले बताइन् ।