‘बीस हजार कर्मचारी भर्ना गर्दै सरकार’

प्रकाशित मिति:

पर्सा – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताए। मन्त्री पण्डितले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत उक्त परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको जानकारी दिए। नेपाल प्रजापति (कुम्भकार) संघको शुक्रबार वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न लागेको लोक सेवा आयोग परीक्षाको तयारीमा जुट्न युवालाई आह्वान गरे।

उनले मुलुकमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार प्रयासरत रहेको र यसका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको बताए। उनले तराई–मधेस समृद्धि आयोजनामार्फत पूर्वाधारको विकासमा सरकार लागेको र बेरोजगार युवालाई भत्तासमेत वितरण गर्ने नीति लिएको स्पष्ट पारे। नेपाल प्रजापति संघका अध्यक्ष रमानन्द पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरागीलगायतले तराईका जिल्लामा रहेको दाइजो प्रथालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताए।