कांग्रेसमा कार्यसम्पादन समिति गठनको तयारी

प्रकाशित मिति:

भीष्मराज ओझा/काठमाडौं – नेपाली कांग्रेसले शनिबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको छ। शनिबार केन्द्रीय कार्यालय सानेपामा अपराह्न एक बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए। पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन्। तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन्।

केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ। कांग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन्। कांग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो। तर पार्टीभित्रै विधानविपरीत धेरै संख्या रहेको भनी आलोचना भएपछि विघटन गरिएको थियो। यसबाहेक बैठकले पार्टी विधानअन्तर्गतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने बताइएको छ। यही चैत्र ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो। समितिमा मीन विश्वकर्मा, जीवन परियार, इश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य हुन्।कांग्रेसले पार्टीको संशोधित नयाँ विधानअनुसार संविधानबमोजिम बन्ने पार्टीका संरचनामा क्रियाशील सदस्यता वितरण विस्तार गर्न अभियान नै चलाउने जनाएको छ।

जिल्ला सभापतिको मागमा छलफल हुने सम्भावना न्यून बिहीबार राजधानीमा सम्पन्न कांग्रेसका जिल्ला सभापतिको दुईदिने भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार गर्न माग गरे पनि त्यसबारेमा शनिबारको बैठकमा छलफल हुने सम्भावना न्यून रहेको बुझिएको छ। सो भेलामा संस्थापन पक्षका सभापतिको भने उपस्थिति थिएन। जिल्ला सभापतिले स्वतःप्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन्।

भेलाले कांग्रेस महासमिति बैठकको भावनाअनुसार सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वाचित हुनुपर्ने आग्रह तथा पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न माग गरेको थियो। कांग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको थियो। महासमिति बैठकमा उक्त दुवै विषयबारेमा प्रमुखताका साथ कुरा उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो। काभ्रेपलाञ्चोकका कांग्रेस जिल्ला सभापति मधु आचार्यले उक्त दुवै विषयमा शनिबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा छलफल हुने अपेक्षा गर्दै बेवास्ता गरिए विशेष महाविधेशनको माग गर्नसमेत बाध्य हुने भेलाले निर्णय गरेको जानकारी दिए।