नेकपा तनहुँमा कुन धार कति शक्तिशाली

प्रकाशित मिति:

दमौली २१ चैत । तत्कालिन नेकपा एमाले र माओवादी एकीकरण सगै बनेको नेकपा तनहुँमा विभिन्न धारहरु रहेका छन् ।खासगरी नेकपा तनहुँमा तत्कालिन एमालेका नेता पिच्छैका धार रहेका छन् भने तत्कालिन माओवादीको भने देखिने गरेर त्यति धेरै धार देखिदैन ।

नेकपा तनहुँमा यतिखेर केन्द्रीय सदस्य पीएल श्रेष्ठ र सांसद टुकराज सिग्देल बलियो धार रहेको छ भने सांसद कृष्णकुमार श्रेष्ठ धार निर्माणका लागि प्रयासरत छन् । नेकपा तनहुँको आन्तरिक राजनीतिलाई नजिकबाट नियालेर हेर्ने हो भने केन्द्रीय सदस्य श्रेष्ठ निकटको धारमा नेताहरु शंकर नारायण श्रेष्ठ ,विष्णुभक्त सिग्देल , चित्र थापा, रेखा थापा बस्याल , विद्या ढकाल, श्रीराम कार्की ,मनुमाया श्रेष्ठ ,मेखबहादुर थापा ,सिताराम बजगाई , विष्णु खड्का ,ऋषि पन्थ ,शान्ता ढकाल नजिक देखिन्छ । यद्यपी यो धारमा पनि श्रेष्ठ आफ्नो हिसाबले निर्णय गर्ने व्यक्तिमा पर्दछन् ।

त्यस्तै श्रीप्रसाद श्रेष्ठ ,राजेश्वर ढकाल ,हरिराज कंडेल , प्रदीप अधिकारी ,प्रेम राना लगायतका जिल्ला स्तरीय नेताहरु सांसद सिग्देल निकट रहेको बुझिएको छ । सांसद सिग्देल गृह जिल्ला आउँदा प्राय यिनै अनुहार सिग्देलको वरिपरि देखिने गरेको छ । त्यसैगरी सांसद श्रेष्ठ निकट भने भगवती न्यौपाने , विश्व न्यौपाने , अनिल पाण्डे, ईश्वर विष्ट ,तुलसी पाण्डे लगायत रहेका छन् । यद्यपी नेतृ न्यौपानेले श्रेष्ठलाई सांसद भएको हिसाबले साथ दिएको र केन्द्रमा भने नेताहरु संग आफ्नै किसिमको सम्बन्ध रहेको बुझिएको छ ।सांसद श्रेष्ठको धार केन्द्रीय सदस्य श्रेष्ठ र सांसद सिग्देलको तुलनामा सांगठानिक रुपमा धेरै कमजोर रहेको छ । सांसद श्रेष्ठले आफ्नो धार बलियो बनाउने निकै कसरत गर्नुपर्ने देखिन्छ । त्यसका लागि श्रेष्ठले सक्दो प्रयास गरिरहेको अवस्था छ । सांसद श्रेष्ठको धारमा राजनीतिक विचारधाराबाट प्रशिक्षित भन्दा भनि व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरु बढी देखिन्छन् । निर्वाचनका समयमा रहेका कार्यकर्तालाई आफ्नो पकडमा राख्न नसक्नु श्रेष्ठको कमजोरी देखिएको छ ।नेकपा भित्र यि धारका अलावा केन्द्रीय सदस्य एकबहादुर राना , पूर्व सांसद टुकराज सिग्देलको पनि राम्रै प्रभाव रहेको छ ।तर राना र सिग्देल भने खासै धार निर्माणमा सक्रिय भएर लागेको देखिदैन । त्यस्तै नेकपा भित्र तत्कालिन माओवादी केन्द्रका नेताहरुको स्पष्ट धार नलुखेपनि अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ निकट नेताहरु रहेका छन् । उनीहरुले खुलेर आफ्नो धार प्रष्ट पारेको अवस्था छैन । समय आएपछि उनीहरु पनि आफ्नो धार सार्वजनिक गर्ने सोचमा रहेका छन् ।समग्रमा भन्दा तनहुँमा हालको क्षेत्र नं १ मा केन्द्रीय सदस्य श्रेष्ठ र क्षेत्र नं २ मा सांसद सिग्देल पक्षधरको प्रभाव बलियो देखिन्छ । आफ्नो प्रभाव कम भएको ठाउँमा प्रभाव बलियो बनाउन दुबै पक्ष लागि परेको अवस्था छ ।

प्रदेश मन्त्री गुरुङको प्रभाव कमजोर

यसैबीच पार्टीको केन्द्रीय राजनीतिमा प्रदेश मन्त्री किरण गुरुङको प्रभाव प्रभावशाली नै भएपनि जिल्लामा भने कमजोर नै रहेको छ । स्थानीय तह निर्वाचनमा टिकट वितरणमा हालीमुहाली गरेका गुरुङको प्रभाव यतिबेला जिल्ला निकै कमजोर रहेको छ । त्यतिबेला प्रभावशाली रहेका कारण गुरुङले हालका क्षेत्र नं २ का सांसद केदार सिग्देललाई भिमाद नगरपालिकाको नगरप्रमुखको टिकट लिनबाट समेत बञ्चित गरेका थिए ।यद्यपी गुरुङगकै कारण सिग्देल नगरप्रमुखको टिकट लिनबाट बञ्चित भएपनि सिग्देललाई भने राजनीतिक रुपमा लाभ नै भएको अवस्था छ । किनकि सिग्देल यतिखेर संघीय सांसदमा निर्वाचित भएको अवस्था छ । त्यस्तै गुरुङकै कारण देवघाट गाउँ पालिकामा बाबुराम अधिकारी समेत टिकट पाउन बञ्चित भएका थिए । गुरुङ जिल्लामा कमजोर हुनुको प्रमुख कारण नेता खगराज अधिकारी रहेको बुझिएको छ । नेता अधिकारीको अवरोधका कारण गुरुङ मुख्यमन्त्रीको रिङगबाट समेत आउट हुन पुगेका थिए । किनकि विगतमा वामदेव गौतम खेमा भएका कारण गुरुङगलाई अधिकारीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पर्ने दिएका थिएनन् ।यद्यपी पछिल्लो समय गुरुङगले आफूले गौतमलाई छाडेर पार्टी पार्टी अध्यक्ष शर्मालाई साथ दिएको अभिव्यक्ति दिएको अवस्था छ ।

आफ्नो पक्ष बलियो बनाउने दाउ

यसैबीच पार्टी एकीकरण सगै बन्न लागेको कार्य समितिमा आफ्नो पकड बलियो बनाउने केन्द्रीय सदस्य श्रेष्ठ , सांसद सिग्देल र सांसद श्रेष्ठ आफ्नो पकड बलियो बनाउने दाउमा रहेका छन् । यो दाउमा को कति सफल हुन्छन् कार्यकर्ताले निकै चासोका साथ हेरिरहेका छन् । “सेतिमादी बाट साभार”