अपनत्वको खोजीमा मधेशी जनता

प्रकाशित मिति:

ललितकुमार यादव-२००७ साल मै वेदानन्द झाद्वारा तराईको स्वयत्तताको मुद्दा उठान गर्दै तराई काँग्रेसको स्थापना गरिएकोे थियो । त्यस बेलादेखि नै तराईले आफ्ना समस्या र मुद्दाको समाधान खोज्दै आईरहेको छ तर समाधान पाउन सकेको छैन । वेदानन्द झा पछि पनि विभिन्न व्यक्ति र समूहहरूले तराईको स्वयत्तताको मुद्दा उठान गर्दै आई रहेका छन । तराईको स्वयत्तताको मुद्दा उठान गर्नेमा शसस्त्र समूहदेखि मुलधारको राजनीतिक दलहरू समेत रहेका छन । केही समयदेखि शसस्त्र समूहहरूको अस्तित्व देखिएको छैन तर एक समयमा शसस्त्र समूहहरू निकै प्रभावमा थियो ।

जन आन्दोलन ०६२÷६३ पश्चात मूलधारको राजनीति गर्ने मधेश केन्दि«त दलहरूको उदय भयो । मधेशमा आन्दोलनले अग्रस्थान लियो । आन्दोलन लामो समयसम्म चल्यो, दर्जनौ मधेशी सपुतहरूले सहादत प्राप्त गरे, अंगभङ्ग र घाईते भए । २०६३ सालदेखि नेपालको संविधान घोषणा हुँदासम्म मधेशमा तीन पटकसम्म आन्दोलन भयो । त्यो पनि लामो समयसम्म आन्दोलन चल्यो । मधेश आन्दोलनहरूले निकै इतिहासहरू रचन सफल भयो । मधेशले बलिदानि दिन कुनै कसर बाँकी राखेन तर मधेशले खोजेको सामाधान पाउन सकेन मूलधारका मधेश केन्द्रित दलहरू आन्दोलित हुने, सहमति गर्ने तर सहमति कार्यवन्यन नहँुदै सरकारमा सहभागि हुन मात्र हतार गर्ने र परिस्थिति प्रतिकुल हुन साथ फेरि आन्दोलित हुने क्रमले बिश्राम लिई सकेको छैन । मूलधारका मधेश केन्द्रित दलहरूसंगको सहमति कार्यवन्यन नहुने र मधेश जहिले आन्दोलित भै रहनु पर्ने कारण मधेशका जनताहरू सिके राउतको अभियानमा आकर्षित भए । त्यसै पनि विद्धान र बुद्धीजिवी छवि भएको व्यक्तिको अभियान आकर्षक नहुने कुरै थिएन ।

विगतदेखि नै मधेशी जनता आफ्नै देशमा अपहेलित भएर बस्नु परेको महशुस गर्दै आइरहेका छन । मधेशी समूदायले अहिले सम्मका कुनै पनि शासकबाट सम्मानजनक व्यवहार पाउन सकेका छैनन । मधेशी जनताले केन्द्रबाट विभेदरहित सम्मानजनक व्यवहारको आश गरेका छन । केन्द्रले मधेशी समुदायलाई अपहेलना होइन सम्मान गर्न सक्नु पर्छ । मधेशका जनताले समता चाहेका छन । केन्द्रबाट समानताको सन्देश पाएमा मधेशको आक्रोश आफै कम हँुदै जान्छ । कुनै किसिमको विभेद नगरिने र विभेद हुन पनि नदिने विश्वास केन्द« सरकारले मधेशी समुदायलाई दिलाउन सक्नु पर्छ । मधेशको भावनालाई कदर गर्न सक्नु पर्छ । भावनात्मक रूपमा मधेशलाई केन्द्र सँग जोड्न चुक्नु हुदैन । डा. सिके राउत स्वतन्त्र मधेश गठबन्धनको स्थापना गरि शान्तिपूर्ण र गैर हिंसात्मक माध्यमबाट मधेशलाई स्वतन्त्र गराउन चाहनु हुन्थयो । अहिले सरकारसँग सहमति गरेर मुलधारको राजनितिमा प्रवेश गरेकाले स्वतन्त्र मधेशको मुद्दा छोडि सकेको मान्नु पर्ने हुन्छ । मधेश आन्दोलनले खोजे जति उपलब्धि दिन नसकेकाले सिके राउतको नैलो र अलग खालको अभियानमा जनताको सहभागिता बढनु स्वभाविक नै थियो । देश टुक्रयाउने अभिव्यक्तिका कारण राउतलाई पक्राउ गर्ने र मुद्दा लगाउने क्रम नै चलन थाल्यो । संविधान घोषणा पश्चात भएको निर्वाचनहरू जनस्तरबाटै वशिष्कार गराउने राउतको अभियान सफल हुन सकेन । त्यसपश्चात् राउतको स्वतन्त्रता अभियानप्रतिको जन आकर्षण घटदै गएको थियो ।
यस अघि पक्राउ पर्दै सामान्य तारिखमा छुटदै आउनु भएका राउत पछिल्लो पटक रौतहट जिल्ला अदालतबाट पक्राउ परेपछि लामो समयदेखि कारागारमै बस्नु भएको थियो  कारागारबाट बाहिरिए लगतै ११ बँुदे सहमति गर्न प्रधानमन्त्रीसँग सार्वजनिक हुनु भयो । यो सहमति कसरी सम्भव भयो त्यो छुट्टै विषय हो । साथै यसको समर्थन र विरोधको आफ्नै पाटो रहेको छ । तर ११ बुँदे सहमति समस्याको समाधान हो की सहमति मात्रै हो मूल विषय यो हो । सहमतिको २ नं. बुँदाको सरकार र राउतले गरेको फरक फरक विश्लेष्णले एकले अर्कालाई झुक्याउन खोजेको हो की के हो बुझन कठिन छ । सहमति मधेशको जनताको लागि बेल पाक्यो कागलाई हर्ष न बिस्मात जस्तै भएको छ । सहमतिले मधेशी जनताको केन्द्रीय सरकारप्रतिको अविश्वासमा कुनै कमी ल्याएको छैन । यो सहमति सहमति हो भन्नेमा कुनै शंका छैन तर यो समाधान हुनै सक्दैन ।रेश्म चौधरीलाई आजिवन कारावासको फैसला हुने बितिकै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । सम्मानित अदालतको फैसलालाई सम्मान गर्नै पर्छ । तर जन निर्वाचित प्रतिनिधिलाई आन्दोलनको क्रममा घटित घटनाको दोषी ठहर गर्नु हुदैन्थयो । यो एउटा दुःखद राजनीतिक घटना थियो र यसलाई त्यही रूपमा हेर्नु पथ्र्यो । रेश्म चौधरी थारू र मधेश केन्द्रित दलको प्रतिनिधि भएकै कारण दोषी ठहर गरिएको ठहर मधेशी समुदायको रहेको छ । अन्य राजनीतिक घटनालाई राजनीतिक घटनाको रूप दिन सक्ने तर यसलाई अपराधिक घटनाकै रूपमा हेर्नुले मधेशी समुदायको शंकालाई झन बल पुगेको छ । यद्यपि टीकापुरको घटनालाई दुःखद घटना होइन भनेर स्विकार्न सकिदैन । त्यही घटनाका पीडित थारूहरू न्याय पाउन बाट बञ्चित हुनु हुँदैन । मधेशले खोजेको समभाव पनि यहि हो । मधेशको यो कुनै अनुचित माग होइन ।मधेश केन्द्रित दलहरू र सरकारबीच सहमति र सम्झौताहरू कम भएन । भएन त कार्यवन्यन । मधेश अहिले पनि तरल राजनीतिक अवस्थामै छ । मधेशले भबिष्यमा लिन सक्ने राजनीतिक रूपको आकलन गर्न सहज छैन । मधेशी जनताको साथ र समर्थन पाएका मधेश केन्द्रित दलहरू जनभावनाको कदर गर्न सकिरहेका छैन । मधेश केन्द्रित दलहरू मधेशको समस्या समाधान गर्न भन्दा सत्ताकै खेलमा केन्द्रित रहेको छ । मधेश केन्द्रित दलहरूको यही प्रवृतिका कारण मधेशी जनताहरू नया नया नेतृत्वको खोजीमा रहेका छन । यसले मधेशी जनताहरूको आकर्षण गलत नेतृत्व प्रति बढ्न सक्ने सम्भावना उतिकै छ । मधेशी जनतालाई आन्दोलित गर्न नसकेको कारण मात्र राजपा विद्रोह गर्न सकिरहेको छैन । राजपा मधेशी जनताको संकेतको पर्खाईमा छ । संकेत पाउन साथ राजपा सडकमा धुलो उडाउन तयारी अवस्थामा बसेको छ । राजपा अन्दोलित हुन तयारी गरि रहेको सजिलै बुझन सकिन्छ । सरकारसँगको सहमति पछि सिके राउतका कार्यकर्ताहरू पनि आक्राोशित नभएका होइन । राउतले आफ्ना कार्यकर्तालाई सन्तुष्ट पार्न सक्नु उतिकै कठिन परिस्थिति छ । मूलधारका मधेश केन्द्रित दलहरूको कार्यशैली मधेशी जनताहरूलाई पनि मन परेको छैन । यस्तो अवस्थामा मधेशी जनताहरू मधेश केन्द्रित दलहरू प्रति आक्रोशित नहोला भने छैन । भोलि सिके राउत नै सरकारले भने झै स्वतन्त्रताको मुद्दा उठाउदैन भने कुनै ठोस सहमति छैन । सरकारबाट अलग हुँदा मधेश केन्द्रित दलहरू आन्दोलन बाहेक केही देखदैन । सरकार पनि सहमति गर्न पछि हटदैन तर कार्यावन्यन गर्न अघि सर्दैन । समस्या समाधानन भएसम्म मुद्दा उठान गर्ने नया नया शक्तिहरू जन्मिने सम्भावना उतिकै छ । फेरि बलिदान दिन कुनै कसर बाँकी नराखेका मधेशी जनता समाधान बेगर सँधै चुपी साँधेरै बसला भनेर सोच्नु मुर्खताबाहेक केही हुन सक्दैन । तसर्थ सहमति गर्नु भन्दा समाधान खोज्नु बेस हुन्छ । मधेशको पहिचान नेपालकै पहिचान हो भनेर अन्तरआत्माले स्वीकार्दै मधेशी जनतालाई अपनत्वको कमी हुन दिनु हुदैन ।(मधेश दर्पण फिचर सेवा)