गुराँसको संरक्षण र प्रचार प्रसारको लागि घुम्टेमा गुराँस उत्सव हुदै

प्रकाशित मिति:

कौरव खत्री,बागलुङ -बागलुङको घुम्टे लेकमा नयाँ बर्षको अवसरमा ‘गुराँस उत्सव’ हुने भएको छ ।गलकोट घुम्टे पर्यटन विकास केन्द्रले लालीगुराँस संरक्षण र लेकको प्रचार प्रसारको लागि विगत सात वर्षदेखि निरन्तर रुपमा सुरु गरिएको गुराँस उत्सव यस बर्ष पनि चैत ३० र वैशाख १ गते हुने भएको छ ।

घुम्टे समुद्री सतहदेखि १० हजार ९ सय ९३ फिटको उचाइमा रहेको घुम्टेमा फुल्ने दर्जनौ प्रजातिका गुराँसको संरक्षण र प्रचारको लागि उत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गरि वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले अति महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनमा समेत उत्सवले थव टेवा पु¥याउने आयोजकको भनाई छ । घुम्टे धुरीमा शिद्ध भैरवको मन्दिर छन् । उक्क्त मन्दिरमा वैशाख पूर्णिमामा दर्शन गर्न जाने भक्तजनको घुइचो लाग्ने गर्दछ ।

गुराँस उत्सवका अवसरमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइला जस्ता मौलिक संस्कृति झल्कने गीत तथा नृत्य एवं झाँकी समेत प्रदर्शनी गरिने छ । उत्सवमा सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डात्तोलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रम छन ।चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्न थरीका गुराँसले घुम्टेको लेक राताम्मे र गुराँसमय हुने गर्दछ । घुम्टेमा दुर्लभ प्रकारको मानिने सेतो लालीगुराँस सहित दर्जनौ प्रजातिका फूल फुल्ने गर्दछन ।केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्न तथा संरक्षित वन क्षेत्र र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि अगाडि सारेको बरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिए ।घुम्टेको लेकबाट मनमोहक सूर्योदय र सूर्यास्त सहित दुई दर्जनभन्दा बढी हिमश्रृङ्खला र मनोरम दृश्यको अवलोकन गरि हेर्न सकिन्छ । घुम्टे लेकसम्म सहज रुपमा पुग्नका पैदल मार्ग समेत निर्माण गरिएको छ । पाण्डवखानी, हरिचौर र ताराखोलाबाट पर्यटकीय पदमार्ग निर्माण भएका छन ।