काँग्रेसको बैठकः देउवा र पौडेलबीच ६०–४० को समझदारी !

प्रकाशित मिति:

काठमाडौं –नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको समझदारीलाई औपचारिकता दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दई शीर्ष नेताबीच पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बनाउने सहमती भएपछि बैठक पुनः आज बस्न लागिएको हो । कार्य सम्पादन समितिमा सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार पर्ने भएका छन् । बाँकी २१ जनामा भागवण्डा भएको बताइएको छ ।

बैठकमा उपस्थित एक नेताका अनुसार सभापति देउवाले भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम माग गरेका छन् । यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइरालासहित कोषाध्यक्ष जोड्दा ४० प्रतिशत हाराहारी हुन्छ । बाँकी १२ जना देउवा समूहबाट पर्ने भएका छन् । अर्का नेता कृष्णप्रसाद सिटौलालाई सभापतिको भागबाट राख्ने गरी सहमति जुटेको छ । दुबै पक्षबाट सदस्यहरुको नाम उपलब्ध भएमा आजै कार्यसम्पादन समिति गठन गर्ने तयारी छ । १३ औं महाधिवेशन भएको तीन वर्ष पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय विभागहरु गठन गर्न सकेको छैन । नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग हुन्छन् । कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै जागरण अभियान चलाउने तयारी पनि गरेको छ ।