नयाँ राष्ट्रिय पुनर्जागरण आवश्यक

प्रकाशित मिति:

केशवराज पौडेल-परिवर्तन, परिवर्तन र परिवर्तन ! आज नेपाली समाजको एउटै मात्र नारा भएको छ । संसार परिवर्तन भएर कहाँ पुगिसक्यो ! हामी भने धेरै ढिलो भइसक्यौं । खोई ! संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व र राष्ट्रिय चरित्रलाई दह्रोसँग आत्मसात गरेर राष्ट्रिय राजनीति अघि बढेको ? यो देश कुनै जात, व्यक्ति र राजनीतिक पार्टीको एकलौटी होइन । यसको राष्ट्रियता र लोकतान्त्रिक क्रान्तिप्रतिको अपनत्व र स्वामित्व सबैको छ ।

न छिमेकी भारत र चीनमा जस्तो एक व्यक्ति र एक पार्टीले राष्ट्रिय स्वतन्त्रताको नेतृत्व गरेको गौरवशाली इतिहास हाम्रो देशमा छ । अनि किन सबै मिलेर नेपाली साझा राष्ट्रवाद र देशभक्तिप्रति समर्पित भई विकसित मुलुकको जस्तो पद्धति निर्माण गरेर आर्थिक सामाजिक रूपान्तरणको बाटोमा निर्णायक रूपले अघि बढ्न नसकेको ?राजतन्त्रलाई नेपाली जनताले माया गर्दागर्दै संंस्थामा रूपान्तरण हुन नसक्दा परिवर्तनको आँधीले बढारेर लग्यो । पार्टीहरूमा पनि नयाँ युगले दिएको जिम्मेवारीलाई सत्ता स्वार्थभन्दा माथि उठेर पालन गर्ने चरित्र देखिएको छैन ।२०६२–६३ को क्रान्ति एउटा नयाँ चेतना र सभ्यतातर्फको यात्रा थियो । यो परिवर्तनले निःशस्त्र र सशस्त्र क्रान्तिको मर्मलाई आत्मसात गरी नेपाली क्रान्तिलाई पूर्णता दिएको छ । यसले राष्ट्र र सेना जनताको हो भन्ने नयाँ सन्देश दिएको छ । राष्ट्रिय राजनीतिलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवादको विचारले स्थायी रूपमा सैद्धान्तिकृत गरेको छ । केही जातिहरूमा आफ्ना असन्तुष्टि छन् तर ती समस्याको समाधान संविधान संशोधनबाट गर्न सकिन्छ ।

राष्ट्रको राजनीतिलाई स्थायित्व प्रदान गरिसकेपछि एउटा राजनीतिक परिपक्वताको आशा गरिन्छ, हरेक देशको राजनीतिमा । आज त्यहीं भएर नयाँ राष्ट्रिय राजनीतिक स्कूलिङको जरूरी भइसकेको छ । एउटा कमाण्डिङ्ग राष्ट्रिय चरित्रले राष्ट्रलाई कमाण्ड गर्ने बेला भइसकेको छ । नेतृत्वमा हिजो क्रान्तिकालको जस्तो विरोधीलाई ध्वंश गर्ने चरित्रको अन्त्य हुन सकिरहेको छैन । हिजो क्रान्तिकालमा क्रान्तिको भावनाले जितेर सबैलाई एक ठाउँमा ल्यायो । क्रान्ति सफल भयो । राजनीतिक स्थायित्वको ग्यारेन्टी भयो । अब निर्माणकालमा सबैको राष्ट्रिय सोच एउटै भएर अघि बढ्नुपर्दछ । एउटा राष्ट्रिय पद्धति निर्माण गर्ने सवालमा राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिबारे सबैले एउटै सोच बनाई राष्ट्रिय एकताको बाटोमा राष्ट्रको राजनीतिलाई निर्ममतापूर्वक अघि बढाउनु पर्दछ । आज यही कमजोरीको कारण परिवर्तन विरोधी राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू सल्बलाइरहेका छन् । परिवर्तनको गाडी हाँक्ने ड्राइभरले जनताको लोकप्रिय इच्छाको मर्म बोकेर अघि बढ्न नसक्दा जनतामा आशा र उत्साह कमजोर भएर गएको छ । आज सत्तापक्षका मानिसहरूमा नै निराशा छाउनु राजनीतिको ठूलो कमजोरी भएको छ । हरपल आफ्नो सत्ताको र नेताको गुणगान गाउन तयार कार्यकर्ताहरूको मनोबल कमजोर हुनु भनेको पक्कै पनि हल्का विषय हुन सक्दैन ।
सैद्धान्तिक रूपमा फड्को मारिसकेको राष्ट्रिय राजनीतिलाई व्यावहारिक रूपमा पनि फड्को मारेको अनुभूति दिन सकिएन भने यो अवस्था भोलीको स्थायित्वलाई नै खतरनाक हुन सक्छ । पछाडि फर्काउन खोज्ने प्रतिक्रियात्मक मानिसलाई फाइदा पुग्न जान्छ । यहाँका राजनीतिक परिवर्तनका अभियन्ताहरू प्रतिगामी राजनीतिको सहयोगी हुन सक्दैनन् । अब पछाडि फर्कन खोज्ने हरेक सम्भावनालाई समाप्त पारेर राजनीतिलाई सकारात्मक र रचनात्मक दिशामा अघि बढाउनैपर्दछ, यसको विकल्प छैन ।आज आर्थिक समृद्धिको कुरा चौतर्फी आइरहेको छ, के आर्थिक समृद्धि एउटा पार्टीको पनि एउटा गुटको मात्र एकल अभियान हुन सक्दछ ? हिजो राष्ट्रिय लोकतान्त्रिक क्रान्ति पनि १९९७ साल देखिको २०७२ सालसम्म संविधान नबनून्जेलसम्मको एउटा राष्ट्रिय अभियान थियो । त्यसैले अब सबै जनताहरूले बुझ्नुपर्दछ, अब जागिरे मनोवृत्तिका नेताहरूलाई राजनीति सुम्पनु हुँदैन । भारतमा नेहरू र मोदी जस्ता राजनेताहरूलाई जनताले भोट दिएर राष्ट्रको जिम्मेवारी दिए । हामीले पनि राष्ट्रप्रति जवाफदेही त्यस्तो नेता किन नखोज्ने ? समय आइसकेको छ । मूल कुरा गाडीको ड्राइभर फेर्ने हो, त्यसैले देशलाई एउटा समृद्धिको नयाँ इतिहास रच्ने लि क्वान चाहिएको छ । सबैले त्यसतर्फ सोचौं । नेपालको राजनीतिमा अब त्यसको विकल्प छैन । अहिलेसम्मको नेपाली राजनीति राणाकाल होस् वा राजतन्त्रकाल, राष्ट्रियताको केन्द्रविन्दू एक व्यक्ति नै भएको हो । तर आधुनिक संघीय लोकतान्त्रिक गणतान्त्रिक कालमा जनताले संविधानसभाबाट गतिशील संविधान निर्माण गरेपछि राष्ट्रियताबारे बृहत् बहस जरूरी छ । नेपाली राष्ट्रवादलाई गहिरो तरिकाले लिन हुदैन भन्ने चिन्तन माथिल्लो स्तरमा हावी भए पनि यसलाई चिरेर नगई समृद्ध नेपालको निर्माण असम्भव छ । नेपालको राजनीतिमा माथिल्लो स्तरमा नै राजनीतिलाई कमाउने भाँडो, क्यारियरको रूपमा हेर्ने गलत प्रवृत्ति छ, यसले गर्दा नेपाली राजनीतिको मौलिकतालाई नकारात्मक रूपमा प्रभावित गरिरहेको छ । त्यहीं भएर राजनीतिमा सकारात्मक र रचनात्मक चिन्तन हावी भएका नयाँ मानिसहरूको जरूरी छ, जसले राष्ट्रको आत्मालाई स्पष्ट गम्भीर चिन्तन र मौलिक क्षमताबाट उज्यालो बाटोतिर डो¥याउन र लम्काउन सकून । नयाँ नेपालको राजनीतिक अभियानले नेपाली राष्ट्रियता र लोकतान्त्रिक गणतान्त्रिक क्रान्तिको मर्मलाई दह्रोसँग आत्मसात गरेका त्यागी, तपस्वी र बलिदानी मानिसको नयाँ पुस्तालाई बडो नम्रताका साथ समृद्ध नेपालको निर्माणको लागि निमन्त्रणा गरेको छ । क्रान्तिकालअघि २००७ साल या २०४६ र २०६२÷६३ होस्, हाम्रा अग्रज पुस्ताहरूको निर्मम आगमन बिना क्रान्ति सफल भएका थिएनन् ।नेपालको राजनीतिमा निर्णायक वैकल्पिक शक्ति जनता छन् । यो राष्ट्रको राष्ट्रियता र राजनीतिक परिवर्तनका निर्णायक स्वामित्वकर्ता पनि नेपाली जनता मात्र छन् । किन पटक–पटकका सरकारले राजनीतिक–वैचारिक स्थायित्वको नेतृत्व गर्दै राष्ट्रलाई पद्धतिमा ढालेर अगाडि बढाउन सक्दैन ? किन हाम्रो राष्ट्रको राजनीतिले पुरस्कार र सजायको बाटोमा होस् वा हरेक कुरामा एक पाइला अगाडि बढ्यो भनेर जनतालाई आशावादी बनाउन सक्दैन ? किन जनताको ढुकुटीको संरक्षण हुन सक्दैन ? अब व्यवस्था प्राप्तिको लडाइ सकिएको छ, तर जनतालाई निर्णायक वैकल्पिक जनमुखी सत्ता चाहिएको छ, राणा र राजाहरूको दास नभएका जनताहरू अब कसैको दास हुने छैनन् । आज राष्ट्रलाई राष्ट्रियताबारे सहि परिभाषा, राजनीतिक परिवर्तनको सुरूआत र गन्तव्य तथा समाजको सामाजिक आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल बनाउनेबारे वैचारिक स्पष्ट सोच अनि त्यो त्यसअनुसार लक्ष्य र एक्सनको जरूरी छ । त्यसलाई नेतृत्व दिने नयाँ वैकल्पिक लोकतान्त्रिक शक्ति र प्रभावशाली नेतृत्व, आज राष्ट्र र समाजको राष्ट्रिय आवश्यकता बनेको छ । त्यस्तो नेतृत्वले मात्र राजनीतिक स्थायित्वको नेतृत्व गर्दै मुलुक र जनतालाई आत्मगत र वस्तुगत रूपमा निर्णायक लक्ष्यतिर डो¥याउन सक्छ ।आज पनि हाम्रो देशको राजनीतिमा ठूला मान्छे तथा अन्धविश्वास र कुरिती हावी हुने संस्कार छ । किन हाम्रो देशमा हरेक क्षेत्रका माथिल्लोस्तरका नेतृत्वलाई गल्ती गर्दा सजाय दिने पद्धति छ भने अनुभूति जनताले गर्न सकेका छैनन् ? किन हाम्रो राजनीति उत्पीडक र उत्पीडित, शोषक र शोषित, शासक र शासित दुई वर्ग निर्माण गर्न उद्धत छ ? हिजो त शासकहरूसँग बन्दुक थियो, गाह्रो थियो, आज पनि मुठ्ठिभर उत्पीडकलाई यत्रो बहुमत इमान्दार जनताले कमाण्ड गर्न किन नसकेको ? त्यसैले आज नयाँ राष्ट्रिय पुनर्जागरण जरूरी छ । अब हरक्षेत्रका इमान्दार जनता र नेतृत्व जागेर राजनीतिलाई नयाँ तरिकले अघि बढाउनुपर्छ । क्रान्ति सकिए पनि नेपाली राजनीतिका अभियन्ताहरू नयाँ तरिकाको बाटोमा नलागीकन्, हाम्रो राजनीतिले सहि निर्णायक यात्रा हिंड्ने छाँट छैन । बेइमान, भ्रष्ट, तस्कर र माफियारूपी फोहोरलाई पाखा नलगाई हाम्रो राजनीतिक पोखरी सङ्लिने छैन । एउटा नयाँ सकारात्मक र रचनात्मक राष्ट्रिय अभियानका लागि सबै अभियन्ताहरू जागौं, जनता जगाउन तयार भएर अगाडि बढौं । यो बाहेक राष्ट्र बनाउन खोज्नेहरूका लागि अर्को बाटो छैन । तब मात्र व्यक्ति, पार्टी मात्र ठूलो नभई राष्ट्र, पद्धति, राजनीतिक स्थायित्व, संविधान ठूलो हो भन्ने सहि राजनीतिक संस्कारको विकास हुनेछ । तब मात्र समृद्ध नेपालको बाटोमा राष्ट्रले निर्णायक छलाङ हान्नेछ भन्नेमा दुईमत हुन सक्दैन ।(मधेश दर्पण फिचर सेवा)