ओली सरकार असफल भयो : बाबुराम

२३ चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


नयां शक्ति पार्टीका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसंग ध्रुविकरण गर्ने तयारीमा नयां शक्ति लागेको बताएका छन् । पहिचान सहितको संघीयता, सुशासन,सदाचारको पक्षमा र भ्रष्टाचारका विरुद्ध फेरि एकपटक सशक्त आन्दोलनको खंचो रहेको उनले औंल्याए । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री भट्टराईले नयां राजनीतिक ध्रुविकरणको प्रयासमा नयां शक्ति लागेको स्पष्ट पारे । आदिवासी,जनजाति,दलित,महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे । पहिचान,अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएको बताउंदै उनले वाइडबडी भ्रष्टाचार, बुढीगण्डकी भ्रष्टाचार, अन्य मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गर्ने, सेना परिचालन सुरक्षा परिषदको वैठकविनै गर्ने, ठूला परियोजना सिधै प्रधानमन्त्री कार्यालयमार्फत गर्ने जस्ता कुराहरुले गम्भीर बनाएको बताए । बाइडबडी विमान अनियमिततामा पहिले नेकपा नेता र पछि नेका पनि मुछिएको कुरा आएपछि सामसुम पारिएको उनले आरोप लगाए । दुई तिहाई वहुमतको सरकारको एक वर्षे कार्यकाल असफल भएको सरकार आफैले स्वीकार गरेको उनले टिप्पणी गरे ।

भ्रष्टाचार नियन्त्रण नभएको,संघीयताको मर्म अनुसार स्थानीय र प्रदेशलाई अधिकार नदिइएको भट्टराईले बताए । परराष्ट्र मामिलामा पनि सरकार अस्पष्ट र असफल भएको उनले टिप्पणी गरे । नयां शक्तिको परिकल्पना र जन्म लहड अनि आवेगमा नभएको बरु विश्वमा विकसित नयां वैकल्पिक शक्तिको आवश्यकता अनुसार भएको उनले बताए । पत्रकार सम्मेलन अघि मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले पनि आफूसंगको भेटमा संघीयता नमानेको बताए । ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं,तपाईले के भिराइदिनु भो भन्नुहुन्छ’–भट्टराईले भने । पहिलो संविधानसभामा पहिचानका आधारमा १० प्रदेश बनाउन कांग्रेस र एमाले पनि सहमत भएपनि पछि पहिचानलाई स्वीकार नगरेको स्मरण गर्दै उनले अब फेरि पहिचानका आधारमा प्रदेशको सिमांकनका लागि सशक्त आन्दोलनमा लाग्न आग्रह गरे । तत्कालीन कांग्रेस र एमाले संगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति गरेपछि आफूलाई माओवादीप्रति वितृष्णा जागेको र नयां शक्ति स्थापनाको एउटा कारण बनेको भट्टराईले बताए । कार्यक्रममा मगर राष्ट्रिय परिषदका अध्यक्ष टेकम बाठामगर,मगर संघका अध्यक्ष नवीन रोकामगर लगायतले ५ नंं प्रदेशको नामाकरण मगरात नभए कडा आन्दोलन हुने चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया