केही नेता रातारात अर्बपति भएः भट्टराई

प्रकाशित मिति:

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाएका छन् । पार्टी सिद्धार्थनगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले हिजोको अवस्थामा जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दशपन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यू आउँदा पनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको बताए ।

कसैको पनि नाम उल्लेख नगरी भट्टराईले भने, ‘आम्दानी केही छैन तर केही नेता एकाएक अर्बपति भएका छन्, यसमा केही न केही गडबडी अवश्य छ, यति भने नाम नै उच्चारण गर्न पर्दै, आफै बुझिहाल्नुन्छ ।’ राजनीति भनेको नीजि व्यवसाय नभएको उनले बताए । अब व्यवस्था परिवर्तनका लागि जेल जानुपर्ने अवस्था नरहेको बताउँदै भट्टराईले सबै सदाचारी र विधिको शासनअनुसार चल्नु पर्ने बताए । ‘समृद्धिका कुरा मात्रै गरेर हुँदैन, त्यसका लागि भ्रष्टाचार रोक्नुपर्छ, उद्योगमैत्री नीति र कानून बनाउनु पर्छ, विदेशी लगानी भित्र्याउनु पर्छ’, उनले भने ।
मुलुकमै भएको साधनस्रोतको सही परिचालन गर्ने, राजश्स परिचालन सही ढंगले गर्ने र निर्यातमुखी नीति बनाएमा समृद्धि हासिल गर्न सकिने भट्टराईको भनाई छ । ‘सरकारले लगानीको वातावरण बनाउन सकेको छैन, मुलुक भित्रैका साधनस्रोतको सही परिचालन गरे समृद्धि हासिल गर्न सकिन्छ, यसका लागि नेताहरुमा इच्छाशक्ति आवश्यक छ’, उनले भने । अझै पनि महिला, दलित, पिछडा वर्गहरुले लोकतन्त्रको महसुस गर्न नसकेको जनाउँदै भट्टराईले मुलुकमा विभेदको अन्त्य नभएसम्म सच्चा लोकतन्त्र नआउने बताए ।
‘हामीले औपचारिक रुपमा संविधान त बनायौं तर त्यसले निर्दिष्ट गरेका कुराहरु व्यवहारमा लागू गरी सदाचार र सुशासन कायम नगरेसम्म लोकतन्त्रको अनुभूति जनताले गर्न नपाउँदैनन्’, उनले भने । पार्टी राष्ट्रिय संरक्षण परिषद् सदस्य विष्णुहरि शर्माले समृद्धिका लागि नयाँ शक्तिको विकल्प नभएको बताए । वर्तमान सरकारले जनअपेक्षाका कुनै काम गर्न नसकेको उनले आरोप लगाए । अन्तरक्रियामा सिद्धार्थ उद्योग बाणिज्य संघ अध्यक्ष कुलप्रसाद न्यौपानेले बैंक तथा वित्तीय संस्थाको मनपरी ब्याज बृद्धिले उद्योग व्यवसाय संचालनमै समस्या निम्तिएको बताए ।
उद्योग व्यापार संगठन अध्यक्ष नारायणप्रसाद भण्डारीले पार्टीहरु फुटेर नभई जुटेर समृद्धिको यात्रामा लाग्नु पर्ने जनाए । पर्यटन व्यवसायी संजय बजिमयले निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा जग्गा अधिग्रहणमा परेका सथनीयले अझैसम्म मुआब्जा नपाएकाले छिटो वितरणको पहल गर्न माग गरे । शेषकान्त पाण्डे, इस्लाम खाँले विकासमा हातेमालो गर्नु पर्ने बताए । कार्यक्रममा पार्टीले लोकतन्त्र प्राप्तीका लागि योगदान दिएको र इमान्दारीपूर्वक राजनीति गरेको भन्दै पुराना नेताहरुलाई सम्मान समेत गरेको थियो । नेकपा महिला नेतृ पद्मादेवी प्याकुरेल, नेकपा नेताहरु भिमनारायण चौधरी र त्रिलोकनारायण सिंह विश्वकर्मा तथा काँग्रेस नेता शालिकराम पाण्डेलाई सम्मान पत्रले सम्मान गरिएको थियो । पार्टी सिद्धार्थनगर अध्यक्ष शोभाकान्त नेपालको अध्यक्षता तथा संचालन र किस्मत विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।