खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह

प्रकाशित मिति:

काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आन्दोलनरत डाक्टरलाई खटाएको ठाउँमा गएर काम गर्न भनेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले खटाएको ठाउँमा नजानेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले बिरामीको उपचार नगर्ने डाक्टर नै नभएको समेत टिप्पणी गरे। ‘उपचार नगर्ने डाक्टर त डाक्टर नै हुँदैन,’ उनले भने।

उनले डाक्टरहरुले संघमा बस्छु भनेर आन्दोलन गर्नुको खास कारण संघीयता असफल बनाउने षड्यन्त्र रहेको पनि बताए। कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका कर्मचारीलाई अन्याय गरेको भन्दै सरकारी चिकित्सकले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

मन्त्री यादवले व्यक्त गरेको विचार जस्ताको तस्तै: कुनै पनि चिकित्सकको कर्तव्य हो बिरामीको इलाज गर्ने। रोगीहरुको उपचार गर्ने। त्यसैको लागि चिकित्सक चाहिएको हो। अस्पताल चाहिएको हो। रिसर्च गर्नु परेको हो। मेडिसिन पढ्नु परेको हो। यी सबै केका लागिभन्दा बिरामीको उपचारका लागि हो। उपचार नगर्ने डाक्टर त डाक्टर नै हुँदैन। अस्पतालमा जान्न भन्ने पनि कहीँ डाक्टर हुन्छ। गाउँमा जान्न सहरमा मात्र बस्छु भन्ने डाक्टर हुन्छ? काठमाडौंमा मात्र बस्छु भन्ने प्रवृत्ति चाहिं हुँदैन।सरकारले खटाएको ठाउँमा उपचार गर्न जानुपर्छ। जहाँ जनतालाई उपचारको आवश्यकता परेको छ, त्यहाँ जाने डाक्टर नै डाक्टर हो। गएनन् भने सरकारले नियमअनुसार व्यवस्थापन गर्न जानेको छ। टाउकोमाथि चढाएर बाटोमा हिँड्दिन भनेर पाइन्छ? संघीयताको विरोधमा कुनै पनि खालका षड्यन्त्र स्वीकार हुँदैन। संघमा मात्र बस्छु तल जान्न भनेको के हो? जनता त गाउँमा बस्छन्। गाउँमा जनता बस्छ, गाउँमा अस्पताल छ, गाउँमा उपचार गर्न जानुपर्छ। रासस