आज विश्व स्तनपान दिवस, ‘स्तनपान : जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदै

प्रकाशित मिति:

काठमाडौं – आज विश्व स्तनपान दिवस, ‘स्तनपान : जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो  ।

स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा रोगाणु नाशक तत्वहरू हुन्छन् । तर अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । आमाको दूधले बच्चाको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

संगठनले आमाकाे दूध बच्चालाई  स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ । यस्तै, आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधी बढेर जान्छ । बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूको वृत्तिविकाससमेत असर पर्दछ ।  डाक्टरले बालबालिकालाई स्वस्थ राख्न ६ देखि आठ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताएका छन् ।