सावित्रा भण्डारी र अनिता बस्नेत बने हिरो इन्डियन महिला लिग खेल्ने

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित हिरो इन्डियन महिला लिग खेल्ने भएका छन् । पछिल्लो समय राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने पक्का भएको हो ।

पहिलो पटक नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा अनुबन्धन हुन लागेका हुन् । तेस्रो संस्करणको हिरो महिला लिग चाँडै सुरु हुदैछ । नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले अनिता र सावित्राले भारतीय लिग खेल्ने पक्का भएको खेलपाटीलाई बताए । ‘सावित्रा र अनिताले अब भारतीय लिग खेल्छन् ।’ उनले भने । उनका अनुसार सावित्रालाई गोगुलमले प्रस्ताव गरेको छ ।

अर्को क्लब सेतुले अनिता र सावित्रा अनुबन्धनको प्रस्ताव गरेको छ । नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दुवै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवैको प्रेरणादायी प्रर्दशनमा नेपालले साफको फाईनल यात्रा तय गरेको थियो । भारतीय फुटबल महासंघले सन् २०१६ बाट इन्डियन महिला लिग आयोजना गर्दै आएको छ । यस अघिका संस्करणमा राईजिङ स्टुडेन्ट क्लब र एस्ट्रन स्पोर्टिङ युनियनले जितेका थिए । यस अघि अनिता र सावित्राले माल्दिभ्सको फुटसल लिग खेलेका थिए ।