बथनाहा–विराटनगर रेल सेवा : सरकारले नै दिएन इजाजत

प्रकाशित मिति:

कुमार लुइँटेल/विराटनगर – भारतको बथनाहाबाट विराटनगरको बुधनगरसम्म रेल हर्न बजाउँदै आउँदा धेरैलाई लागेको थियो ‘अब छिट्टै रेल गुड्छ र चढ्न पाइन्छ’ । गत कात्तिक १८ गते रेल आएको हेर्न र स्वागत गर्न नेपालतर्फका धेरै मानिसहरु बुधनगरमा भेला भएका थिए । बथनाहाबाट बुधनगरसम्म मालबाहक रेल ल्याउन लिक परीक्षण गर्न आएका भारतीय अधिकारीले ‘यात्रुबाहक पनि आउँछ’ भन्दै स्थानीयलाई हौस्याउन पनि भ्याए । लिक परीक्षण गर्न आएका भारतको गुवाहटीस्थित नर्थइस्ट रेल्वेका उप–प्रमुख एस विश्वासले बथनाहा–कटहरी रुटमा एक वर्षभित्रै नियममित रेल संचालन गर्न सकिने बताए । “मालबाहक रुट भएपनि यात्रु बोक्ने रेलपनि चलाउन सकिन्छ,” भन्दै स्थानीयको जिज्ञासा मेट्ने प्रयास गरे ।

तर, यो रेल संचालनको अन्तरवस्तु भने अलि भिन्न रहेको पछिल्लो पटक निरीक्षणमा आएका भारतीय अधिकारीहरुले नै खुलासा गरिदिए । ‘‘विराटनगरसम्म मालवाहक रेल नचलाई यात्रुबाहक रेल आउने सम्भावना नै छैन,’’ मंगलबार निरीक्षणमा आएका कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर) कोलकत्ताका चिफ जनरल म्यानेजर एसए रहमानले भने,‘‘रेल चल्ने सबै वातावरण नेपाल सरकारले बनाउने हो तर अहिलेसम्मको प्रगति हेर्दा लाग्छ रेल कुद्न अझै कति कुर्नु पर्ने हो थाहा छैन ।’’

नेपालतर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आउने मालबाहक रेलको पूर्वाधार निरीक्षण गर्न कलकत्तास्थित नेपाली महावाणिज्यदूत एक नारायण अर्यालसँगै आएका उनले कामको ढिलासुस्ती र नेपाल सरकारले इजाजत नदिँदा रेल चल्ने सम्भावनाबारे धेरै प्रश्न उठ्ने गरेको बताए । भारत सरकार मातहतको कन्कोरले देशभर तथा बाहिर पनि विधुतीय कन्टेनर कार्गो पठाउँछ । मालसामान बोक्ने रेल (र्‍याक) पनि उसैले पठाउँछ । तर, सोझै कोलकत्ताबाट मालवाहक रेल विराटनगरसम्म आउन अझै कठिन देखिएको छ ।

विद्युतीय कार्गोमार्फत् नेपाल आयात गरिने मालवस्तु कोलकाता बन्दरगाहबाट विराटनगरको एकीकृत जाँचविन्दु (आइसिपी) सम्म ल्याउन नेपाल सरकारले अनुमति नै दिएको छैन । यो अवस्थामा रेल नेपालसम्म आउने कुरै भएन् । रहमानले भने,‘‘भारत सरकारले आइसीपीसम्म ल्याउन इजाजत दिइसकेको छ ।’’ नेपालतर्फको आइसिपीभन्दा ४ सय मिटर पूर्वमा भारत सरकारले रेलमार्ग ल्याइसकेको छ । त्यहाँसम्म विद्युतीय कार्गो आउन सक्छ । तर, कोलकाता बन्दरगाहदेखि नेपालतर्फको आईसीपीसम्म विद्युतीय कार्गो ल्याउने जिम्मा पाएको कन्कोरका रमान भन्छन्,‘‘नेपाल सरकारले दिने इजाजतसँगै पूर्वाधारको अवस्थाले पनि अहिल्यै रेल ल्याउन कठिन छ ।’’

रहमानले रेल्वे अपरेसनको तीन चार महिनामै नआउने बताउँदै आईसीपीमा के के चाहिन्छ माग हुँदै जाने विषय भएको जनाउादै रेल्वे यार्ड अति नै महत्पूर्ण हुने बताउँदै भने,‘‘रेल ह्यान्डलिङ स्टिम न भारततिर न त नेपालतिर नै निर्माण भएको छ । रेलमा आएका सामान कहाँ राख्ने ? प्लेटफर्म छैन । कहाँ सामान अनलोड हुन्छ ? यार्ड पक्की हुनुपर्छ किनकि बर्षा लाग्नासाथ हिलो नहोस् ।’’ उनले वीरगन्जमा जस्तो व्यवस्थित रेल ह्यान्डलिङ स्टिम चाहिने बताए । वीरगन्ज जति क्षमताको नभए पनि उनले ४५ र्‍याक ह्यान्डल गर्न सकिनेमा यता विराटनगरमा भने मासिक १० भन्दा बढी गर्न नसकिने बताए । तर, कन्टेनर आईसीपी भएरै जाने भएकोले यसको काम चाँडै हुनुपर्ने बताए । कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालसहित रहमानले बथनाहा स्टेसन, जोगबनी र आईसीपीको निरीक्षण गरे । यसअघि विराटनगर नाकादेखि ९ किलोमिटर दक्षिणको बथनाहा स्टेसनसम्म विद्युतीय कार्गो आइसकेको छ ।

महावाणिज्यदूत अर्यालले इजाजत दिन नेपाल सरकारको ध्यानाकर्षण गर्ने बताउँदै भने,‘‘ विद्युतीय कार्गो अत्यन्त सफल र सुरक्षित प्रणाली हो । भारतभित्र पनि यही अपनाइन्छ । अब अब सडक मार्गबाट पैठारी गरिने कन्टेनरलाई पनि विद्युतीय कार्गोका रूपमा सञ्चालन गर्ने प्रयास गर्छौ ।’’ अहिले सडक साँघुरो भएका कारण बथनाहामा झारिएका कन्टेनर पनि विराटनगर पुग्न एक हप्तासम्म लाग्ने गरेको छ । यसले जोगबनीको साँघुरो सडकमा जाम हुनुका साथै अधिक समय खर्च हुने गरेको छ । रेलमा विद्युतीय कार्गो सुचारु भए पैठारीकर्ताको खर्च जोगिनुका साथै समय पनि बच्दछ । भारतीय पक्षले नेपाललाई आइसिपीको हस्तान्तरण चैत १७ गते गर्ने लक्ष्य राखेको छ । तर, निर्माण कार्य पूरा नहुँदा २ महिना समय बढाएर अब जेठ १ गते गरिने लक्ष्य छ । नेपालतर्फ आईसीपीको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । विराटनगरका उद्योगी प्रदिप मुरारका र प्रकाश मुन्दडाले आईसीप सञ्चालनमा ढिलाइ गर्न नहुने र रेल कुद्ने वातावरण बनाउन सरकारले चासो दिनुपर्ने बताए । नेपालको कहटरीसम्म रेल ल्याउने योजना भएपनि जग्गा मुआब्जा विवादले बुधनगरदेखि उत्तरतर्फको काम भने अघि बढ्न सकेको छैन । बथनाहा–कहटरी रेलमार्गको दुरी १८ किमी छ । यो रुटलाई सरकारले पूर्वपश्चिम रेलमार्गको इटहरीमा जोड्ने योजना बनाएको छ ।