मोदी फेरि प्रधानमन्त्री बने शान्ति वार्ता गर्न सहज हुनेछः इमरान खान

प्रकाशित मिति:

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बने पाकिस्तान र भारतबीच शान्ति वार्ता हुने संभावना बलियो हुने बताएका छन्।विदेशी पत्रकारहरुसँगको कुराकानीमा इमरानले यस्तो बताएका हुन्। उनले भारतको आम चुनावमा भारतीय जनता पार्टीले चुनाव जितेर मोदी प्रधानमन्त्री बने शान्ति वार्ता गर्न सहज हुने बताए।

विपक्षी पार्टी कांग्रेस सत्तामा आए शान्ति वार्ता गर्न अप्ठेरो हुने उनले संकेत गरे। उनले भने,‘कांग्रेस पाकिस्तानसँग डराएको हुनसक्छ।’ भारत र पाकिस्तानबीच कास्मिरमा हुने गतिविधीका कारण विवाद हुँदै आएको छ। पाकिस्तानस्थित आतंकवादी समूहले कास्मिरमा आक्रमण जारी राखिरहँदा भारतले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ। पाकिस्तान भारतको आरोपलाई अस्वीकार गर्छ।

पाक प्रधानमन्त्री खानले कास्मिर विवादबारे भारतसँग शान्ति हुन सके दुवै देशका लागि महत्वपूर्ण उपलब्धि हुने बताएका हुन्। गत फेब्रुअरी र मार्च महिनादेखि भारत र पाकिस्तानको सम्बन्ध निकै विग्रिएको छ। खानले कास्मिर मुद्धा सुल्झाइनुपर्ने र त्यो अहिलेजस्तै सधैं रहिरहन नसक्ने बताएका छन्।