२०७८ सालको जनगणनाका लागि अहिलेबाटै तयारी गर्न तथ्याङ्क विभागको सुझाव

प्रकाशित मिति:

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले वि.स. २०७८ मा गरिने जनगणनाका लागि झण्डै ५ अर्ब रुपैयाँ चाहिने बताएको छ । त्यसका लागि हालदेखि नै बजेटको व्यवस्था गर्नुपर्ने विभागले सुझाएको छ । जनगणनाका लागि ४ अर्ब ८६ कारोड खर्च लाग्ने विभागको अनुमान छ । बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले केन्द्रदेखि स्थानीय तहसम्मको तथ्याङ्क संकलन गर्नुपर्ने भएकाले बजेट अभाव हुन नदिन प्रस्ताव गरेको बताएका छन् ।

झण्डै ५० हजारको संख्यामा कर्मचारी चाहिने पनि तथ्याङ्क विभागले बताएको छ । व्यक्तिगत विवरण भरिने फारमका लागि ६० वटा प्रश्नावली तयार पारिएको अर्यालले जानकारी दिए । यस्तै शिक्षकलाई गणनामा खटाउन नहुने सुझाव तथ्याङ्क विभागले दिएको छ । शिक्षकलाई खटाउँदा विद्यार्थीहरुको पढाई प्रभावित हुने भएकाले शिक्षकलाई नखटाउन विभागले भनेको हो । करारमा कर्मचारी भर्ना गर्ने तथा निजामति कर्मचारी परिचालन गर्न सकिने विभागले सुझाव दिएको छ ।