रुपन्देही उद्योग संघको टोली समस्या बोकेर काठमाडौं

प्रकाशित मिति:

रुपन्देही -रुपन्देही उद्योग संघको एक प्रतिनिधि मण्डल यस क्षेत्रका उद्योग र उद्योगीहरुको समस्या लिएर काठमाडौं गएको छ । काठमाडौं गएको टोलीले सम्बन्धित विभिन्न मन्त्रालय तथा विभागहरुमा भन्सार, कर तथा राजश्व लगायतका विषयमा रहेका समस्याहरुको बारेमा जानकारी गराउदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको जनाइएको छ ।संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले उद्योग मन्त्रालय, भन्सार विभाग तथा राजश्व महाशाखा लगायतमा पुगेर समस्याहरुका बारेमा जानकारी गराएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।

टोलीले उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडा, भन्सार विभागका प्रमुख रामेश्वर दंगाल, राजश्व महाशाखाका निर्देशक निर्मलहरि अधिकारीसंग भेट गरि समस्याहरु अवगत गराएको थियो । भेटका अवसरमा संघका अध्यक्ष अधिकारीले सिमा क्षेत्रमा रहेका उद्योगहरु भन्सारका समस्याले धेरै नै अप्ठयारोमा परेको भन्दै त्यसमा सुधारका लागि पहल गर्न आग्रह गर्नु भयो । संघका तर्फबाट पटकपटक दिइएको सुझाव र आग्रहलाई मनन गरेमा उद्योगको विकासमा टेवा पुग्ने विश्वास पनि व्यक्त गर्नु भएको थियो ।
यसैवीच संघको टोलीले नेपाल उद्योग परिसंघको अधिवेशनमा पनि सहभागिता जनाएको थियो । नयाँ नेतृत्व चयन गर्ने अधिवेशन समेत भएकोमा संघका तर्फबाट अध्यक्ष गणेश अधिकारी तथा पूर्व अध्यक्ष एजाज आलम कार्यकारी सदस्यमा निर्वाचित हुनु भएको थियो ।