सरकारको मनोमानी कांग्रेसले टुलुटुलु हेरेर बस्दैनः प्रकाशमान सिंह

प्रकाशित मिति:

काठमाडौं  – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई आर्थिक गतिविधि पारदर्शी बनाउन आग्रह गरेका छन् । पोखरामा भइरहेको पार्टी कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले आर्थिक गतिविधि पारदर्शी भएमा जनमानसमा समेत सकारात्मक प्रभाव पर्ने बताएका हुन् ।

बिहीबार भेलालाई सम्बोधन गर्दै नेता सिंहले सरकार यतिबेला जनवादी केन्द्रीयता लागू गर्न उद्दत रहेकाले सरकारका जनविरोधी गतिविधिविरुद्ध चनाखो भएर लाग्नुपर्ने बताएका छन् । उनले सरकारका हरेक क्रियाकलाप मुलुकको हितविपरित भएको भन्दै भ्रष्टाचारमा लिप्त सरकारकाविरुद्ध सशक्त रुपमा प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

उनले सरकारका हरेक निर्णय संविधानको मर्म र भावनाविपरित हुँदै गएको आरोप लगाएका छन् । उनले भने, ‘सरकार विधि र प्रक्रियालाई लत्याएर अगाडि बढिरहेको छ । दुई तिहाईको दम्भमा सरकार मनोमानी किसिमले चलिरहेको छ । यसलाई कांग्रेसले टुलुटुलु हेरर बस्दैन ।’ उनले इतिहास बोकेको कांग्रेस पार्टीप्रति जनताको आर्कषण कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । जनताको भरोसा कम हुनुको कारण खोज्न जिल्ला कोषाध्यक्षहरुलाई आग्रह समेत गरे ।