१७ घण्टासम्म गुपचुप नै राखियो घटना

प्रकाशित मिति:

विराटनगर – पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको गाडीको ठक्करबाट मोरङमा एकजनाको मृत्यु भएको छ । बुधबार राति सुन्दरहरैंचामा मोटरसाइकललाई ठक्कर दिने गाडी पूर्वराजाको सुरक्षामा खटिएको भएको पुष्टि भएको छ । पूर्वराजालाई काठमाडौं जान विराटनगर विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा ४ मा ७ बजे ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका ८ बस्ने हेम चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सावार वर्ष २१ का प्रकाश चौधरी घाइते छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । हेमको उपारको क्रममा अस्पतालमा साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । कार र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले प्रहरी नियन्त्रणमा लिएको छ । पूर्वराजाको सुरक्षाका लागि खटिएको सो गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले भने गाडी पूर्वराजाको सुरक्षाको लागि खटिएको गाडीले नै ठक्कर दिएको बताए । घटना प्रहरीले धेरै समयसम्म लुकाएको थियो । तर, पीडित र प्रत्यक्षदर्शीले यसबारे सोधीखोजी गरेपछि मात्र पूर्वराजाको सुरक्षाको लागि खटिको गाडी भएको खुल्न आएको हो । पूर्वराजा शाह झापाको दमकस्थित चियाबगानभित्र रहेको मिनी दरबारमा बसेर यसक्षेत्रका शक्तिपीठ दर्शन गर्न गाडीमै आउजाउ गरिरहेका थिए । केही दिनअघि मात्र उनी पाँचथर त्यसपछि इलामका शक्तिपीठ पुगेर पूजाआजा गरेका थिए । प्राय पूर्वीक्षेत्रमा आउँदा उनले आफैं गाडी चलाउने गर्छन ।