अष्ट्रेलियामा नेपाली युवा बने सांसदको उम्मेद्वार

प्रकाशित मिति:

अष्ट्रलिया – अष्ट्रलियाको संघीय निर्वाचनको इतिहासमा पहिलोपटक त्यहाँको सत्तारुढ दल लिबरल पार्टीले एक नेपाली मूलका युवालाई संघीय निर्वाचनको उम्मेद्वार सिफारिस गरेको छ । सिड्नी निवासी परमेज श्रेष्ठ आगामी मे १८ मा हुने संघीय निर्वाचमा बार्टन क्षेत्रबाट उम्मेद्वार बन्न लागेका हुन् । बिहीबार बसेको लिबरल पार्टीको न्यू साउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिस गरेको हो । पिजे श्रेष्ठका नामले चर्चित उनी अष्ट्रेलियामा नेपाली समुदायको दोस्रो पुस्ताका प्रतिनिधि हुन् ।

२० वर्षअघि ६ वर्षको उमेरमा उनी आफ्ना अभिभावकका साथमा अष्ट्रेलिया पुगेका थिए । उनी व्यवसायमा संलग्न छन् । परमेज मिष्टर नेपाल ओसिनियासमेत हुन् । उनी पछिल्लो समय दोस्रो पुस्ताका नेपालीका रुपमा उत्प्रेरकको भूमिकामासमेत देखिएका थिए ।

उनलाई उम्मेद्वार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा ठूलो घना बसोबास भएको सिड्नीको रकडेल, कोग्र, हस्टभिललगायत क्षेत्र पनि पर्दछ । उनी अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार सिफारिस गरिएका पहिलो नेपाली मूलका युवा हुन् । उनी सम्भवत अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्ेदवार हुने सबैभन्दा कान्छो उमेरका व्यक्ति पनि हुन् ।