अमेरिकी ज्यादतीको भण्डाफोर गर्दा पक्राउ परे असान्ज : जेरेमी कोर्बीन

प्रकाशित मिति:

काठमाडौं – बेलायतमा विपक्षी दल लेबरका नेता जेरेमी कोर्बीनले विकिलिक्सका सम्पादक जुलियन असान्जलाई अमेरिकासमक्ष गर्न सकिने सुपूर्दगीको सार्वजनिक विरोध गरेका छन् । असान्जले इराक र अफगानिस्तानमा गरिएका ज्यादतीको प्रमाण सार्वजनिक गरेको कोर्बीनको भनाइ छ  बिहीवार लन्डनमा असान्ज पक्राउ परेको केही घन्टापछि कोर्बीनले लेबर पार्टीकी सांसद डायन एबोटको भिडियो वक्तव्य ट्वीट गरे । एबोटले संसदमा तर्क गर्दै विकिलिक्सले विभिन्न क्षेत्रमा अमेरिकी सेनाले गरेका कारवाहीमाथिको पर्दा उठाएको र ती कारवाहीले ती देशका मानिसका लागि राम्रो परिणाम नल्याएको बताइन् ।

‘जुलियन असान्जलाई अमेरिकी राष्ट्रिय सुरक्षाको संरक्षण गर्नका लागि पिछा गरिएको नभई अमेरिकी प्रशासन र उनीहरूको सैन्य बलले गरेको अत्याचारलाई उजागर गरेकाले दुःख दिइएको हो,’ एबोटले भनिन् । अमेरिकी सेनाका सूचना सार्वजनिक गर्ने चेल्सी म्यानिङले उपलब्ध गराएका अमेरिकी दस्तावेज सन् २०१० मा प्रकाशित गरेर कम्प्युटर घुसपैठको षड्यन्त्र गरेको आरोप अमेरिकाले असान्जमाथि लगाएको छ ।

स्विडेनमा आफूविरुद्ध लगाइएका झूटा आरोपका आधारमा अमेरिकामा सुपूर्दगी गरिने डरले असान्जले सन् २०१२ मा लन्डनस्थित इक्वेडर दूतावासमा शरण लिएका थिए । उनी दूतावासभित्र लगभग सात वर्ष बसेका थिए र बेलायतले उनलाई त्यहाँबाट बाहिर निस्कन दिएको थिएन । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले उनको शरणार्थी हैसियत फिर्ता लिएपछि बेलायती प्रहरीले उनलाई पक्राउ गरेको थियो – आरटीबाट