सरकारविरुद्ध आन्दोलनमा उत्रिए इन्टरनेट सेवा प्रदायक

प्रकाशित मिति:

काठमाडौं – इन्टरनेट सेवा प्रदायक संस्थाहरूले पनि सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन। टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई बिना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारविरुद्ध आन्दोलन शुरु गरेका हुन। टेलिभिजन प्रशारक संस्थालाई बिना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायकले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूरसंचार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन।

नियम, कानुन विपरीत संचार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नु परेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए। सरकारले हाल नेपाल दूरसंचार प्राधिकरणकाबाट इन्टरनेट सेवा संचालन गर्ने अनुमति दिइरहेको छ। अब संचार तथा सूचना प्रविधि मन्त्रालय आफैँले सो काम गर्न लागेकोमा पनि आफूहरूको आपत्ति रहेको उनको भनाई छ। इन्टरनेट सेवा प्रदायक संस्थाहरूले आफूहरूले सहज रूपमा इन्टरनेट सेवा उपलब्ध गराइरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन। उनीहरूले इन्टरनेट सेवा आफूहरूबाट संचालन गर्ने कानुनी व्यवस्थाको उलंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबार नै नेपाल दूरसंचार प्राधिकरणमा ज्ञापन पत्र बुझाएका छन। संघका अध्यक्ष भट्टले सरकारले आफूहरूको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।