सिंहदरबारमा खुल्यो वाणिज्य बैंकको शाखा

प्रकाशित मिति:

काठमाडौं– देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी सांसदहरुले लामो समयदेखि संसदमा सिंहदरबारभित्र राष्ट्रिय बैंकको शाखा खोल्न माग गरिरहेका बेला वाणिज्य बैंकले २१८ औं शाखा खोलेको हो। शाखाको उद्घाटन वैशाख १ गते हुने बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी टेकराज जोशीले जानकारी दिएका छन्। उनका अनुसार संघीय सचिवालय पुनर्निर्माण तथा व्यवस्थापन कार्यालयको भवनमा शाखा कार्यालयको उद्घाटन गरिने छ।

हाल सिंहदरबारभित्र भारतीय लगानीको एक मात्र एभरेष्ट बैंक छ। नेपाली बैंक राख्न माग गर्दै सांसदहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन्। फागुन २९ को संसद बैठकमा नेकपाका नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरबारभित्र राख्न माग गरेका थिए। उनले भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक रहेको सिंहदरबारभित्र नेपाली बैंकलाई प्रवेशको अनुमति किन नदिएको भनेर अर्थमन्त्री युवराज खतिवडालाई प्रश्नसमेत गरेका थिए।

सो बैठकमा अर्थमन्त्री खतिवडासँगको प्रश्नोत्तर कार्यक्रममा सांसद विन्दा पाण्डे, प्रेम सुवाल, खगराज बराल, सुजिता शाक्य र अनिल कर्णले पनि सिंहदरबारभित्र सरकारी बैंक राख्न माग गरेका थिए।