कांग्रेसमा जागरण आउँछ:नेता निधि

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ सालपछि कांग्रेसमा जागरण आउने बताएका छन्। शुक्रबार राजधानीमा दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा निधिले नयाँ बर्ष २०७६ लगत्तै कांग्रेसमा नयाँ जागरण आउने र त्यसले देशभरि कम्युनिस्ट अधिनायकवाद बिरुद्ध बलियो जनमत तयार पार्ने ठोकुवा गरे।

पार्टीको काम कारवाही हेर्न र वर्तमान अधिनायकवादी सरकारविरुद्ध गाउँ गाउँमा भण्डाफोर गर्न आगामी केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको निधिले जानकारी दिए।सबै जिल्लामा पार्टीको जिल्लादेखि गाउँ सम्मको समिति, भातृ संस्थाहरुको अवस्था, सक्रिय सदस्यको अवस्था सहित समग्र पार्टी गतिविधि बुझ्न र मुलुकमा कम्युनिस्ट अधिनायकवाद र सरकारको जनविरोधी कामका बिरुद्ध जनतालाई जानकारी दिन केन्द्रीय सदस्यहरु प्रत्येक जिल्लामा एक महिनाका लागि खटिँदैछन्’, निधीले भने, ‘कांग्रेसमा अब नयाँ ढंगले जागरण ल्याउनुपर्छ, सबै तयार रहनुहोला।’ उनले जिल्ला खटिने केन्द्रीय सदस्यले एक महिना जिल्ला बसेर पार्टीको गतिविधि सूक्ष्म ढंगले अध्ययन गर्ने र संशोधित बिधान अनुसार पार्टी संगठन पुनर्संरचना लगायतका काम गर्ने समेत बताए।

उनले कांग्रेसमा सामन्य बिषयमा मतभेद देखिए पनि विवाद नभएको दाबी गरे। ‘केही बिषयमा मतभेद हुन्छन्, स्वभाविक हो’, उनले भने, ‘ त्यो पनि चाडै अन्त्य भएर नयाँ बर्षबाट देशभर जागरण बोकेर कांग्रेस गाउँ पुग्नेछ।’कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा, ३ नम्बर प्रदेश सभा सांसद दिपेन्द्र श्रेष्ठ, अर्का प्रदेशसभा सांसद प्रताप तामाङ, दोलखा काङ्ग्रेसका सभापति रुद्रबहादुर खड्का, नेताहरू उद्धवराज काफ्ले, ताराबहादुर कोइराला, नेविसंघका पूर्व महामन्त्री एवम् दोलखाका नेता कुन्दन राज काफ्ले लगायतले बोलेका थिए।