आज चैते दशैँ,यस्तो छ महिमा

प्रकाशित मिति:

आज चैते दशैँ । चैते दशैँको पनि अन्य पर्व जस्तै आफ्नै महिमा छ । चैते दशैँ शक्तिस्वरूपा देवी भगवतीको पूजाअर्चना गरी देशभर मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने परम्परा छ ।

दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा शक्तिरूपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ । उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ ।त्यस्तै आज उपत्यका बाहिर वाग्लुङको बाग्लुङ कालिकामा बिशेष मेला लाग्ने गरेको छ भने गुल्मीको छत्रकोट देवालयमा पनि बिशेष पुजाआज गर्ने गरिएको छ । चैते दशैँमा घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । असोजमा मनाइने बडादशैँ भन्दा कम महत्वको मानिएपनि चैतै दशैँको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । आज पनि बडा दशैंमा जस्तै दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ ।शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ । चैत दशैंको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख भए अनुसार जनविश्वास रहीआएको छ ।आजकै दिन मर्यादा पुरूषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो ।यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । चैते दशैंका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता तथा अहिले पनि धर्ममा आस्था राख्नेहरुले विश्वास गर्दै आएका छन् ।आजका दिन छोरी चेली लगायत दिदी बहिनीहरुलाई बोलाएर खुवाउने चलन पनि गाउँघरमा रहेको छ । पछिल्लो समयमा चाडपर्वको रौनकता र महिमा घट्दै गए पनि गाउँघर तिर उत्तिकै महत्व रहेको छ । श्रोत न्युज अभियान