आज चैते दशैं, गोद्धक र बागलुङ कालिकामा भब्य मेला

प्रकाशित मिति:

काठमाडौं – तिथिका कारणले २०७५ सालको चैते दशैं वर्षको अन्तिम दिन शनिबार परेको छ । यस वर्षको बैशाखमा परेको चैते दशैंको अवसरमा विभिन्न धार्मिक स्थानमा रामनवमीको मेला सुरु भएको छ।

धार्मिक क्षेत्र गोद्धकमा रामनवमीको मेला सुरु – उचित प्रचार नहुँदा प्रसिद्ध भएर पनि ओझेलमा परिरहेको दक्षिण माडी नगरपालिका–३ द्रौपतीनगरमा रहेको धार्मिक क्षेत्रमा गोद्धक मेला सुरु भएको छ । रामनवमी पर्वका अवसरमा आयोजना हुँदै आएको चितवनबाट चालीस किलोमिटरको दुरीमा पर्ने यो मेलामा भारतबाट समेत सयौँ तीर्थालु आउने गर्दछन् । विशेषगरी पाँच पाण्डव बसेको स्थान र परशुरामले तपस्या गरेको स्थलको स्मरणमा यहाँ मेला लाग्ने गर्छ । गोद्धक क्षेत्र पुगेर दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप नाश हुने धार्मिक विश्वास रहेको स्थानीयवासी कृष्ण चौधरीले बताउनु भयो । पाँच पाण्डव बसेको क्षेत्रका रुपमा गोद्धकलाई लिइने गरिन्छ ।  गोद्धक मेला व्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद अधिकारीले मेला अवलोकन तथा परशुराम कुण्ड स्नान गर्न आउने भक्तालुको विगतभन्दा चहलपहल बढेको बताउनुभयो । गोद्धक मेला आउने मध्ये मनोरम झरना रहेको परशुराम कुण्ड हेर्न आउनेहरु धेरै हुने गरेका छन् । प्राचीन किंवदन्तीअनुसार परशुराम कुण्डमा परशुरामले तपस्या गरेका थिए । सोमेश्वर पर्वतबाट झरेको मनोरम झरना परशुराम कुण्डमा बगेको छ । परशुराम कुण्डमा नुहाएमा पाप नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

ऐतिहासिक चैत्राष्टमी मेला सुरु – बागलुङमा लाग्ने ऐतिहासक चैत्राष्टमी मेला बुधबारदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा चैतै दसैँका अवसरमा आयोजित मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला सुरु गरिएको हो । बागलुङमा दशकौँअघि देखि हुँदै आएको चैत्राष्टमी मेला देशमै प्रसिद्ध मानिन्छ । पवित्र शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा सुरु भएको मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम राख्ने गरिएको छ ।